बेलायतमा गायक स्व. बद्री केसीको सम्झनामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको शोक सभा

लण्डन । बेलायतको नेपाली समुदायमा एक लोकदोहोरी गायकको रुपमा परिचित कलाकार बद्री केसीको निधनको सम्झनामा श्रद्धाञ्जली अर्पण गरिएको छ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, यूकेले  दिवंगत भएका कलाकार बद्री केसीको सम्झनामा भर्चुअल जुमद्वारा शोक सभाको आयोजना गरेको हो।

प्रतिष्ठान नेपालको केन्द्रीय अध्यक्ष रमेश बिजीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा प्रतिष्ठान गण्डकी प्रदेश शाखाको अध्यक्ष सुरेन्द्र गुरूङ, निवर्तमान अध्यक्ष सागर बिरही गुरूङ, बरिष्ठ उपाध्यक्ष पूर्ण परियार लगायत बेलायत स्थित थुप्रै संघसंस्थाबाट आमन्त्रित अतिथिहरू उपस्थित थिए ।

प्रतिष्ठान यूकेको कार्यसमिति पदाधिकारीहरू, आजीवन तथा साधारण सदस्यहरू र स्वर्गीय केसीका साथीहरू तथा शुभचिन्तकहरूको सहभागि रहेको शोक सभामा नाई नभन्नु ल २ चलचित्र को गीत “मर्ने कसैलाई रहर हुदैन” बजाएर शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा उपस्थित सबै सहभागिले स्व. केसीको सम्झना गर्दै उनले नोपली कलाक्षेत्रमा पुर्याएको योगदान उल्लेखनीय रहेको बताए ।कार्यक्रममा स्वर्गीय केसीको सम्झ्नामा २ वटा छुट्टा छुट्टै धुन बजाई करिव ५ मिनटसम्म मौन धारण गरिएको थियो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, यूकेकासचिव रत्न शाहीद्वारा सन्चालित कार्यक्रम लण्डन नेपाल न्युजको फेसबुक पेज मार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो ।

प्रतिष्ठान गण्डकी प्रदेशले स्वर्गीय केसीको स्मृतिमा अक्षयकोष खडा गर्ने र उक्त कोषबाट प्राप्त हुने व्याजमार्फत हरेक बर्ष कुनै प्रतिभा अथवा कलाकारलाई सम्मान गर्ने अभियान अगाडी बढाएको अध्यक्ष सुरेन्द्र गुरूङले बताए । उनले यस अभियानमा साथ दिन समेत सबैलाई आग्रह गरेका छन् ।

शोक सभाको अन्तमा प्रतिष्ठान यूकेका अध्यक्ष समेत रहेका कार्यक्रमका सभापति टंक शेरचनले शोक मन्तव्य व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

लन्डनको एजवेरमा बस्दै आएका ३२ वर्षीय केसीको गत जनवरी ९ तारिखका दिन रूखमा झुण्डिएको अवस्थामा भेटिएको थियो ।त्यसको अघिल्लो दिन शुक्रबार दिउँसो करिब पौने ४ बजे फेसबुक स्टाटस लेख्दै उनले आफ्ना साथी, परिवार र संसारलाई नै ‘गुडबाई’ भनेका थिए ।

नेपालको पोखरा घर भएका केसी झण्डै डेढ दशकअघि अध्ययनका लागि बेलायत आएका थिए ।लामो समयदेखि बेलायतको सांगीतिक क्षेत्रमा लागि परेका उनले  थुप्रै गीतहरु बजारमा ल्याएका छन् । उनले अल्डरसटको निरमाया रोधीघरमा सन् २००९ देखि झण्डै पाँचवर्षसम्म लोकदोहोरी गायकका रुपमा काम गरेका थिए । बेलायतका कयौं ठाउँमा आयोजना हुने कार्यक्रममा समेत उनले प्रस्तुति दिने गरेका थिए ।