नेप्लीज ब्रिटिश कम्युनिटी यूकेको ११ औँ बार्षिकोत्सब यसरी बन्यो भव्य र उत्कृष्ट,

शिब भण्डारी ।

लन्डन । बेलायतस्थित सामुदायिक संस्था,नेप्लीज ब्रिटिश कम्युनिटी (एनबीसी यूके)ले शनिबार स्थापनाको ११ औं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । कोरोना महामारीका कारण बेलायत लकडाउनमा रहेकाले ‘भर्चुअल माध्यमबाट मनाइएको यसपटकको बार्षिकोत्सब सेलीव्रेटीमय बनेको छ । संस्थाले कार्यक्रमलाई ‘विशेष मनोरन्जन २०२१’ नामाकरण गरेको थियो । सो कार्यक्रममा देश विदेशमा रहेका चर्चित नेपाली सेलिब्रेटीहरुले प्रस्तुति दिएका थिए । कार्यक्रममा प्रस्तुत गीत, संगीत, गजल, हास्यव्यंग्यले कार्यक्रम निकै उल्लासमय बन्यो ।

रफी श्रेष्ठले ‘यो नेपाली शीर उचाली’ बोलको नेपाली राष्ट्रिय गीतमा बाँसुरी बजाँउदा सबै मुग्ध भए । कविताकै माध्यमबाट मानिसहरुलाई अत्यन्तै भावुक बनाउन सक्ने क्षमता भएका प्रसिद्ध कवि नवराज पराजुलीले प्रस्तुुत गरेको कविताले कार्यक्रम अत्यन्तै रोमाञ्चक बन्यो । आशिष राजले पछिल्लो समयमा करोडौँले मन पराएको ‘फुलबुट्टे सारी’ बोलको गीत गाँउदा बार्षिकोत्सब उत्सव भन्दा कम भएन् । मञ्जु भण्डारीको कविता – ‘शब्द गुच्छा’, नारायण गाँउलेको गजल, रमेश कायस्थले प्रस्तुत गरेको ‘कविता फुरेन’ नामको कविता र गजल, फणिन्द्र भट्टराईको छन्द कविता, नृपेश उप्रेतीको गजलको तड्काले कार्यक्रमलाई थप सुन्दरता भर्याे ।

त्यसैगरी बरिष्ठ हास्यकलाकार मनोज गजुरेल र जीतु नेपालले दिएको हास्यव्ंयंग्यको अर्काे तड्काले सहभागिहरु पेट मिचिमिची हाँसे । एलिना चौहानले ‘तिम्रो मायाले बाँधेर राख’, ‘के माया लाग्छ र…’, बसन्त सापकोटाले ‘गाला रातै, गाला रातै,’ ‘सुन न पियारी’ बोलका गीतहरुले बार्षिकोत्सबमा अर्काे रौनक थप्ने काम गर्याे ।गायक राज सिग्देलको ऊ जितेर गई या हारेर गई नतिजा आफैतिर पारेर गई ‘संगीतिक प्रस्तुतिले सबैको मन छोयो ।अन्तिममा पुनः रफी श्रेष्ठले ‘तिरीरी मुरली बज्यो बनैमा मनैमा लौ माया नमारे’ बोलको गीत प्रस्तुत गरेका थिए ।

संस्थाका संयोजक राज ओझाले स्वागत मन्तव्य व्यक्त गर्दै कोरोना कहरले सबैजना आक्रान्त भएका बेला बेलायतवासी नेपाली समुदायका साथै देश विदेशमा छरिएर रहेका समस्त नेपालीहरुको मुहारमा थोरै हांसो ल्याउने उद्देश्यले मनोरन्जनात्मक कार्यक्रम आयोजना गरिएको बताए । रबिन्द्र अधिकारी, किरण अधिकारीले प्रबन्ध सहयोग, डा. जगन कार्की र चूडामणी रेग्मीले प्राविधिक सहयोग गरेको कार्यक्रमको सञ्चालन रूपा रानाले गरेकी थिइन् ।

२०१० मा स्थापना भएको यस संस्था बेलायतमा च्यारिटी कमिसनमा दर्ता गरी परोपकारी काममा संलग्न हुँदै आएको छ । विदेशी भूमिमा नेपाली धर्र्म, भाषा, संस्कृति, परम्परा,भेषभूषाको जगेर्ना र संरक्षण गर्ने, नेपाल बेलायत र अन्य मुलुकहरुमा परोपकारी काम गर्ने, विभिन्न धर्म, जात, भेग, पेशा आदिलाई एकै थलोमा समाहित गर्ने लगायतका उद्धेश्य राखेको यस संस्था बेलायती समुदायमा अब्बल संस्थाको रुपमा स्थापित भएको छ।कार्यक्रममा सहभागी संस्थाका संस्थापक अध्यक्ष कमल कमल पौडेल पूर्व अध्यक्षहरु पदाधिकारी तथा सल्लाहकारहरु लगायत धेरै जनाको उपस्थिति थियो ।सो कार्यक्रमको लाइभ प्रसारण लण्डन नेपाल न्यूज,ग्लोबल नेप्लिज न्युज नेटवर्क तथा अन्य अनलाइन मार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो।