संसद् विघटनविरुद्ध परेका रिटहरुमा बहस सकियो, कहिले आउँछ फैसला ?

काठमाडौँ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेसँगै उक्त कदमविरुद्ध सर्वोच्चमा दर्ता भएका १३ रिटहरुको संवैधानिक इजलासमा बहस सकिएको छ ।

अन्तिम पटक शुक्रवार एमिकस क्यूरीको तर्फबाट गीता पाठक संग्रौलाले राय दिएसँगै बहस सकिएको हो ।

बहस सकिएपछि संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फागुन १० गतेभित्र बहस नोट दिन यस रिटमा पक्ष, विपक्ष र एमिकस क्युरीका रुपमा चयन भएका कानुन व्यवसायीलाई आग्रह गरे ।

अर्को इजलास ११ गते मंगलवार बस्ने गरी मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ । जबराले ११ गतेपछि फैसलाको प्रक्रिया शुरु हुने र त्यसपछि जति बेला पनि अदालतको फैसला आउने जानकारी दिए । फैसलाबारे जबराले १० गतेपछि हेर्दाहेर्दैमा जाने भन्दै त्यसपछि जुनसुकै दिन पनि फैसला आउनसक्ने बताए ।

सर्वोच्च अदालतमा पुस ७ गते नेकपाका प्रमुख सचेतक देव गुरुङसहितले रिट दायर गरेका थिए । त्यसको ठीक दुई महिनामा बहस सकिएको हो । संवैधानिक इजलासमा प्रधानन्यायधिश नेतृत्वको ५ सदस्यीय इजलास गठन गरिएको थियो । जसमा विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजवहादुर केसी न्यायाधीश सदस्य रहेका छन् ।