काठमाडौं । अमेरिकी अन्तरिक्ष नियोग नासाको पर्सिभिअरेन्स रोबोट गएराति मंगल ग्रहको सतहमा अवतरण गरेसँगै नेपाली वैज्ञानिक महावीर पुनले पनि ‘मीना’ रोबोट बनाउने घोषणा गरेका छन् ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले ‘मीना’ रोबोट बनाउने घोषणा गर्दै भने, ‘अमेरिका र बिकसित देशहरुले मात्र अनुसन्धान तथा बिकास गरेर रोबोटहरु बनाउने भनेको छ र ? हामी पनि के कम भनेर राष्ट्रिय आविष्कार केन्द्रमा एउटा सर्भिस रोबोटको प्रोटोटाइप निर्माण गरिंदैछ । अर्काको डाहा गरेर मात्र हुँदैन, डाहा लाग्नेले काम पनि गर्नु पर्यो नि ।’
केन्द्रले रोबोटको प्रोटोटाइप निर्माण गरिरहेको भन्दै उनले रोबोटलाई आर्टिफिसियल इन्टिलेजेन्स प्रयोग गरेर कमर्सियल सर्भिस रोबोटको रुपमा विकास गर्ने लक्ष्य राखिएको जानकारी दिए ।
१० जना इन्जिनियरले चार महिनादेखि मीना रोबोट बनाइरहेको भन्दै यस कार्यलाई साथ दिन आग्रह गरे ।
‘कसै कसैलाई हामीले बनाउन लागेको रोबोट देख्दा हाँसो लाग्यो भने मरीमरी हाँस्नु सक्नु हुन्छ । किन भने हाँसो उठ्नु स्वभाबिक कुरा हो,’ उनले भनेका छन्, ‘तर हाँस्नेहरुले यो पनि सम्झनु होस् कि अमेरिकाले अरबौ डलर खर्च गरेर बिश्व भरिका नामुद ईन्जिनियरहरु लाई धेरै बर्ष सम्म नोकरी दिएर बनाएको त्यो अमेरिकी रोबोट र राष्ट्रिय आविष्कार केन्द्रको सानो तिनो सहयोगमा हाम्रा भर्खरै ईन्जिनियर बनेका भाईहरुले बनाउन प्रयास गर्दै गरेको जुगाड रोबोटमा अति नै जान्ने भएर खिल्ली उडाउन र हाँसो गर्न मिल्दैन होला, हाँसे पनि केहि छैन ।’
यो प्रोजेक्टको लिडर अमेरिकाको टेक्सासमा काम गरिरहेका सन्देश पाण्डेले गरिरहेको भन्दै उनले यसमा काम गर्न इच्छुक रहेका कोही भए सम्पर्क गर्न समेत आग्रह गरे ।






