नेपाली बजारमा सुनको भाउ असार महिनापछिकै सस्तो

काठमाडौँ । पछिल्लो समय निरन्तर रुपमा घटिरहेको सुनको मूल्य शुक्रवार पनि गिरावट आएको छ । एक हजार रुपैयाले घट्दै सुनको भाउ असारयताकै सबैभन्दा सस्तो बनेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ८८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला ८७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधबार तोलामा ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ८९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । केही दिनयता सुनको मूल्य घट्दो क्रममा रहेको हो ।

यस्तै बिहीबार तेजावी सुन तोलामा ८८ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । यसैबीच शुक्रवार चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार रु ५ घटेर तोलामा १३३५ रुपैयाँमा कारोबार भएको थियो ।

असारयता पहिलो पटक सुनको भाउ ८८ हजार भन्दा मुनि आएको छ । २०७७ असार महिनामा ८० हजार बराबरमा कारोबार भएको सुनको भाउ त्यसलगत्तै निरन्तर रुपमा बढीरहेको छ ।

गत साउन २३ गते सुनको भाउ अहिलेसम्मकै उच्च प्रतितोला एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो ।