अस्ट्रेलियामा फेब्रुअरी २२ देखि देशव्यापी रुपमा कोभिडविरुद्धको खोप लगाइने

सिड्नी । अस्ट्रेलियामा यही फेब्रुअरी २२ गतेदेखि देशव्यापी रुपमा कोरोनाइभारसविरुद्धको खोप लगाइने भएको छ ।

स्वास्थ्य मन्त्री ग्रेग हन्टले एक लाख ५२ हजार डोज खोप आइसकेको भन्दै २२ गतेदेखी देशभर नै काभिड खोप लगाउने बताएका हुन् । अस्ट्रेलियाले फाइजर खोपलाई मान्यता दिएको छ । पहिलो चरणमा क्वारेन्टिन क्षेत्र र सीमा क्षेत्रका कर्मचारीहरू, अग्र मोर्चामा कार्यरत स्वास्थ्य अधिकारीहरू, वृद्ध हेरचाह केन्द्र तथा अशक्त केन्द्रका कर्मचारीहरू, वृद्ध हेरचाह केन्द्रका निवासीहरूलाई खोप दिइने योजना रहेको छ ।

फाइजर कम्पनीको खोप माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने भएको कारण सोही अनुसारको तापक्रम निश्चित गरेर सुरक्षित रुपमा सर्वसाधारणलाई लगाइने उनले बताए । हाल आएको खोपलाई जनसंख्याको आधारमा सबै राज्यहरुमा वितरण गरिने भएको छ ।

यसअघि प्रधानमन्त्री स्कट मरिसनले १० मिलियन खोप निश्चित भइसकेको भन्दै मार्च महिनाको अन्त्य सम्म ४० लाखलाई भ्याक्सिन दिईसक्ने योजना रहेको बताएका थिए । अस्ट्रेलिया सरकारले कोरोनाभाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई डिजिटल कोभिड भ्याक्सिन प्रमाणपत्र दिने योजना सार्वजनिक गरेको छ ।

यस योजना बमोजिम कोभिड खोप लगाएका अस्ट्रेलियाली नागरिकले आफूले खोप लगाएको प्रमाण स्मार्ट फोनबाटै प्रस्तुत गर्न सक्नेछन् ।