चीनले बन्द गरिदियो बिबिसीको प्रसारण

लण्डन । चिनियाँ सरकारले बीबीसी वर्ल्ड न्यूज प्रसारणमा प्रतिबन्ध लगाएको छ । त्यहाँको टेलिभिजन तथा रेडिओसम्बन्धी नियामक निकायले प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।

कोरोनाभाइरस महामारी र आदिवासी उइगर अल्पसङ्ख्यविरुद्ध गरिएको दमनबारे बीबीसीले गरेका रिपोर्टिङ्गको चीनले आलोचना गरेको थियो ।

सञ्चारमाध्यमसम्बन्धी ब्रिटिश नियामक निकाय अफकमले यूकेमा चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)को प्रसारण अनुमति खारेज गरेपछि चीनले पछिल्लो कदम चालेको हो ।

सीजीटीएनको प्रसारण अनुमतिपत्र गलत रूपमा स्टार चाइना मिडिया लिमिटेडसँग रहेको पाइएपछि अफकमले त्यस्तो निर्णय लिएको थियो ।

गत वर्ष ब्रिटिश नागरिक पिटर हम्फ्रेलाई बलपूर्वक दिन लगाइएको भनिएको बयान प्रसारण गरेर प्रसारणसम्बन्धी ब्रिटेनका नियमहरू सीजीटीएनले उल्लङ्घन गरेको पाइएको थियो ।

आफ्नो निर्णयमा चिनियाँ नियामक निकायले बीबीसी वर्ल्ड न्यूजले समाचार सत्य र निष्पक्ष हुनुपर्ने तथा चिनियाँ राष्ट्रिय स्वार्थमा हानि पुर्‍याउन नहुने सहितका प्रसारणसम्बन्धी निर्देशिकाहरूको गम्भीर रूपमा उल्लङ्घन गरेको जनाएको छ ।

अर्को वर्ष प्रसारणका लागि बीबीसीले मागेको अनुमति स्वीकार नहुने उसले जनाएको छ । बीबीसीले विज्ञप्ति जारी गर्दै चिनियाँ अधिकारीहरूको यस्तो निर्णयमा निराश भएको बताएको छ ।