झापा-झापाको दुहागढी–४ चारआलीस्थित नेपाल आयल निगमको शाखा कार्यालय परिसरमा गएराति एक युवाको आगोले जलेर मृत्यु भएको छ ।
निगमको कार्यालय परिसरमा रहेको पुरानो काठे घरको एउटा कोठामा शुक्रबार राति ८:३० बजे धनकुटा घर भई काठमाडौँको कपनमा डेरा गरी बस्ने २८ वर्षीय जयबहादुर बडुवाललाई सुतेकै ठाउँमा शरीर जलेर बेहोस भएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
तत्कालै उपचारका लागि मेची अञ्चल अस्पताल पुर्याउँदा चिकित्सकले बडुवाललाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक सुवास बुढाथोकीले जानकारी दिनु भयो । डेढ वर्षअघि सम्म निगमको एक ट्याङ्करमा हेल्पर काम गरेका बडुवाल काम छाडेपछि लामो समयसम्म झापा बाहिरै बस्दै आएका थिए ।
शुक्रबार राति कतिखेर निगमको काठे घरमा बडुवाल प्रवेश गरे भन्ने थाहा नभएको कार्यालयका सुरक्षा गार्ड चन्द्रकान्त दासले बताउनुभयो । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






