रिहा भइन् नेकपा नेत्री रामकुमारी झाक्री

काठमाडौं । नेकपा प्रचण्ड-माधव पक्षकी नेत्री रामकुमारी झाँक्री रिहा भएकी छिन् ।

महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई राज्यविरुद्धको अपराध गरेको अभियोगमा पक्राउ गरेको थियो । हिरासतमा परेको साढे ५ घण्टापछि झाँक्री रिहा भएकी हुन्।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले रामकुमारीलाई उनका श्रीमान पशुपति पुरीको जिम्मामा रिहा गरिएको जानकारी दिए ।

चौतर्फी दवाव भएपछि यसअघि प्रहरीले नेता योगेश भट्टराईको जिम्मामा रिहा गर्ने बताएको थियो । तर भट्टराईले मानेनन् ।

झाँक्रीलाई उनकै घरबाट प्रहरीले दिउँसो १ बजे राज्यविरुद्धको अपराध मुद्धामा पक्राउ गरेको थियो ।

हिरासतको क्रममा उनले दिएको अभिव्यक्तिको विषयमा सोधपुछ गरिएको थियो । उक्त क्रममा झाँक्रीले राष्ट्रपति एक संस्था भएको र उक्त संस्थाप्रति आफ्नो पूर्णतः सम्मान भएको तर गलत प्रवृतिको विरोध गरेको बताइन् ।

यसैवीच रिहा भएपछि बोल्दै नेत्री झाँक्रीले प्रतिगमन परास्त हुँदै गएको बताएकी छिन् । ‘देशभर भएको प्रदर्शन र दबावको अगाडि प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको छ । हामी जित्दैछौं ।’उनले भनिन् ।

झाँक्री पक्राउ परेसँगै देशभर चौतर्फी आलोचना तथा विरोध भएको थियो ।