प्रशान्त महासागरमा ७.७ म्याग्निच्युटको भूकम्प, सुनामी आउने चेतावनी

काठमाडौं । दक्षिण प्रशान्त महासागरमा ७.७ स्केलको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भूवैज्ञानिक एजेन्सीका अनुसार बुधबार साँझ सो भूकम्प गएको हो । यो भूकम्प लोयल्टी द्वीप समूहबाट १० किलोमिटर दक्षिण पूर्वी गहिराइमा गएको थियो ।

यसको धक्का न्यूजील्याण्डदेखि इन्डोनेसियासम्म महसुस गरिएको छ ।

यद्यपि भूकम्पले पुर्याएको क्षतिको विवरण आइसकेको छैन । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ ।

यसैबीच अष्ट्रेलियाको मौसम एजेन्सीले दक्षिण प्रशान्त महासागरमा ७.७ म्याग्निच्युटको भूकम्प गएका कारण सुनामी आएको पुष्टि गरेको छ । व्यूरो अफ मेट्रोलोजी अष्ट्रेलियाले सुनामीबाट लर्ड होवे द्वीप जोखिममा रहेको चेतावनी दिएको छ ।

यसैगरी अमेरिकी सुनामी चेतावनी केन्द्रले भानुआटु र फिजीमा सुनामीको लहर १ देखि ३.३ फुट माथिसम्म आउनसक्ने चेतावनी दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।