राज्यविरुद्धको अपराध गरेको अभियोगमा नेत्री रामकुमारी झाक्री पक्राउ

काठमाडौं । नेकपा प्रचण्ड माधव पक्षकी नेत्री रामकुमारी झाक्रीलाई प्रहरीले पक्राउ गरेको छ ।महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई राज्यविरुद्धको अपराध गरेको अभियोगमा पक्राउ गरेको हो ।

यसअघि उनलाई सोधपुछको निम्ती बोलाएको प्रहरी पछि सादा पोशाकमा उनको घरमै पुगेको थियो । त्यसलगत्तै झाक्रीले यो राजनैतिक मुद्धा भएकोले पक्राउ पूर्जी लिएर आउन भनेकी थिइन् ।

त्यसलगत्तै प्रहरीले झाँक्रीमाथि राज्यविरुद्धको अपराध अभियोगमा पक्राउ पूर्जी लिएर आएपछि आफू गिरफ्तार हुन झाक्री सहमत भएकी हुन् । पक्राउ हुँदै गर्दा उनले केपी ओली नेतृत्वको सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउँदै आफूलाई पक्राउ गरेको बताइन् ।

‘कहिल्यै नखोसिने लोकतन्त्रको लागि लडेकी थिएँ, लोकतन्त्र सँगै धेरै कुरा पायौँ भनेका थियौँ ।’, उनले भनिन्, ‘तीन बर्ष अघि बहुमत पनि पाएको थियौँ । आज दिन यस्तो आयो कि जुन पार्टीमा म थिएँ । आज त्यही सरकारले गरेको असंवैधानिक निशरंकुश कदमले गर्दा, संविधानको सुरक्षाको लागि बोलेका केही विचारहरुले गर्दा धारा ५८ को अवशिष्ट अधिकार प्रयोग गरी राज्यविरुद्धको अपराध गरेको भन्दै प्रहरीले ल्याएको पक्राउ पूर्जी अनुसार म गिरफ्तारी दिन तयार छु ।’

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि झाक्रीले आक्रामक विरोध गर्दै आएकी छन् । गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर प्रहरीले पक्राउ गरेको हो ।

झाँक्रीले भनेकी थिइन्, ‘राष्ट्रपतिका कुरा त के गर्नु? म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु – निर्वाचनको तयारीका लागि सुखसुविधा ऐश–आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुस्, चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गए पनि हुन्छ । नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो? त्यसको तयारी गरेर सन्देश पठाउनुस्, तपाईंसँग म पनि भारी हुन्छु ।’

नेत्री झाँक्रीमाथि प्रहरीले निगरानी गरिरहेको समाचार प्रकाशन भएपछि बुधबार काठमाडौँमा आयोजित विरोधसभामा पनि लोकतन्त्रमा बोल्न पाइने बताएकी थिइन् ।

‘कार्यकारी प्रधानमन्त्रीको एसिस्टेन जस्तै एउटा कोठामा बसेर निरंकुशताको साक्षीको पात्रको विरुद्ध बोल्न पाइन्छ । एउटा खलपात्रको विरुद्ध बोल्दै गर्दा कसले भन्छ महिला अस्मिता मिचियो भनेर? एउटा अहंकारी सन्की प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिविरुद्ध बोल्न पाइन्छ । कुनै पदमा लिंग हुँदैन सार्वजनिक पदको हो ।’ उनले भनेकी थिइन् ।

यसअघि उनलाई पक्राउ गर्न माग गर्दै अनेमसंघले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो ।