न्यूयोर्क । अमेरिकामा इतिहासमै पहिलो पटक महिला अर्थमन्त्री बन्ने भएकी छिन् । सिनेटले अर्थमन्त्री अर्थात ट्रेजरी सेक्रेटरीमा जानेट यालेनको नाम स्वीकृत गरेसँगै उनी पहिलो महिला अर्थमन्त्री बनेकी हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाको ट्रेजरी सेक्रेटरीमा यालेनलाई छानेकोमा सिनेटले उक्त सिफारिस सदर गरेको हो ।
सिनेटले उनको नाम आज भारी बहुमतले पारित गरेको हो । ८५ जनाले उनको पक्षमा र विपक्षमा १५ जनाले मतदान गरेका थिए । सबै १५ जना रिपब्लिकनहरु हुन् ।
शुक्रबार सिनेटको बित्त समितिले गतसाता उनको नाम सर्वसम्मतले पारित गरेको थियो । उनको पक्षमा बित्त समितिका सबै २६ जनाले मतदान गरेका थिए भने विपक्षमा शुन्य मत खसेको थियो ।
यालेन फेडरल रिजर्भकी पूर्व अध्यक्ष समेत हुन् । अमेरिकी अर्थशास्त्री एवं युनिभर्सिटी अफ क्यालिफोर्नियामा प्रोफेसर समेत रहेकी उनी फेडरल रिजर्भको प्रमुखको जिम्मेबारी सम्हाल्ने समेत पहिलो महिला थिइन् ।
यस अगाडि अमेरिकी रक्षामन्त्रीमा लोयड अस्टिनलाई नियुक्त गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको सिफारिसलाई सिनेटले शुक्रबार स्वीकार गरेको थियो । अस्टिन अमेरिकी रक्षामन्त्री हुने पहिलो अफ्रिकन मुलका अश्वेत अमेरिकन भएका छन् ।






