एनआरएनएको विशेष महाधिवेशन शुरु, परराष्ट्रमन्त्री ज्ञावलीले गरे उद्घाटन

काठमाडौँ । गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन शनिवारबाट शुरु भएको छ । भर्चुअल माध्यमबाट शनिवार र आइतवार गरी दुई दिनसम्म चल्ने महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरिएको छ ।

कार्यक्रमको उद्घाटन परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञावलीले गरेका छन् । उद्घाटन पछि बोल्दै मन्त्री ज्ञावलीले एनआरएनएले कोरोनाभाइरसको विश्वव्यापी संक्रमणको नियन्त्रण गर्न र यसले पुर्याएको क्षतिमा मल्हम लगाउन गरेको कार्य प्रशंसायोग्य रहेको बताएका छन् । संघले संकटको बेला आफ्नो औचित्य र भूमिकालाई स्थापित गर्न सफल भएको बताउँदै संकटको यस अहम परीक्षामा एनआरएनए खरो रुपमा उत्रिएकोमा धन्यवाद समेत दिए । नेपालको संविधानले पहिलो पटक गैरआवासीय नेपालीहरुलाई औपचारिक रुपमा स्वीकार गर्दै एनआरएन नागरिकताको व्यवस्था गरेको स्मरण गर्दै मन्त्री ज्ञवालीले नेपाल सरकारको विदेश नीति अन्तर्गत विदेशमा रहेका नेपालीहरुको ज्ञान र सिपलाई नेपालको विकासमा जोड्ने नीति तय गरेको बताए ।

विशेष महाधिवेशनलाई सम्वोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले विदेशमा बसेर आफ्नो मिहेनत र पसिनाबाट कमाएको पूँजी नेपालको समृद्धि र विकासका लागि गैरआवासीय नेपालीले योगदान गरेको बताए । संघका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घलेले महाधिवेशन महिला, युवा, दोस्रो पुस्ता र संघको भविष्यको बारेमा छलफल गर्न सुझाव दिए ।

पूर्वअध्यक्ष देवमान हिराचन, संरक्षक तथा पूर्वअध्यक्ष जीवा लामिछाने, निवर्तमान अध्यक्ष भवन भट्ट, संघका संस्थापक नेता रामप्रताप थापा, सल्लाहकारहरु कुल आचार्य, टिबी कार्की, उपाध्यक्षहरु डा. बद्री केसी, सोनाम लामा लगायतले बोल्दै विशेष महाधिवेशको सफलताको शुभकामना दिँदै विधान संशोधन, एनआरएन फाउण्डसेन, भिजन २०२० लगायतका विषयमा घनीभूत छलफल गर्न सुझाव दिए ।

भर्चुअल रुपमै दुई दिनसम्म चल्ले संघको विशेष महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरिएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा सम्पन्न भएको उद्धघाटन सत्रमा स्वागत मन्तव्य उपाध्यक्ष रविना थापाले राखेकी थिइन् भने सञ्चालन महासचिव डा. हेम राज शर्माले गरेका थिए ।