नेकपा विभाजनमा बाबुरामको ‘इन्ट्री’, प्रचण्डसंग गरे गोप्य छलफल

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई बीच गोप्य छलफल भएको छ ।

लैनचौरस्थित एक व्यक्तिको नीजि निवासमा भएको छलफलमा अहिलेको आन्दोलनमा कार्यगत एकतालगायत पार्टी एकीकरणसम्मको विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

अध्यक्ष प्रचण्ड अहिले सबै कम्युनिस्टलाई एकीकरण गर्ने अभियानमा लागेका छन् । सोही क्रममा आज उनले अध्यक्ष भट्टराईसँग छलफल गरेको स्रोतले जनाएको छ ।

अहिले जसपा नेपाल र नेकपा प्रचण्ड–माधव समूह प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संसद विघटन गरेको विरुद्धमा आन्दोलन गरिरहेको छ ।

सो आन्दोलनमा पनि कार्यगत एकता गर्ने र विस्तारै पार्टी नै एकीकरण गर्ने विषयमा छलफल भएको बताइएको छ ।

स्रोतका अनुसार छलफल सकारात्मक भएको छ । त्यहाँ भएको कुराकानीलाई आआफ्नो पार्टीमा पनि छलफल गरिने त्यसपछि पुनः वार्तालाई अगाडि बढाउने बताइएको छ । पुन, दाहाल र भट्टराईबीच विगतको माओवादी आन्दोलनकाबारेमा समेत छलफल भएको छ ।

तत्कालीन एमाले र माओवादीबीच एकीकरण भएपछि नेकपा गठन भएका बेला पनि अध्यक्ष प्रचण्डले डा.भट्टराईलाई पार्टीमा आउन आग्रह गरेपछि भट्टराईले ओलीलाई छाडेर आएपछि मात्र त्यसको बारेमा सोच्न सकिने प्रतिकृया दिएका थिए ।

अहिले ओलीलाई अलग भइसकेपछि अध्यक्ष भट्टराईसँग एकता गर्न सजिलो हुने धेरैको बुझाई रहेको छ ।