कोरोनाबाट विश्वकै सबैभन्दा बढी मृत्युदर भएको देश बन्यो बेलायत

लण्डन । बेलायतमा कोरोनाभाइरस संक्रमणको कारण निधन हुने प्रतिशत विश्वकै सर्वाधिक भएको छ । कोरोनाको नयाँ प्रजाति व्यापक रुपमा फैलन थालेसँगै मृत्युदर पनि बढेको हो ।

यूनिभर्सिटी अफ अक्सफोर्टकोे एक अध्ययनका अनुसार यूकेमा विगत हप्तामा दैनिक औसत ९३५ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी हरेक १० लाख मानिसहरुमध्ये १६ जनाले कोभिड १९ बाट ज्यान गुमाएका छन् ।

आइतवार भएको मृतकको संख्याले चेक रिपब्लिकलाई जित्दै मृत्युदर उच्च भएकोे देश बेलायत बनेको हो । आइतवार ६७१ जनाले ज्यान गुमाएकोे यूकेमा सोमबार ५९९ जनाले कोभिडको कारण ज्यान गुमाएका छन् ।

हालसम्म यूकेमा ८९ हजार २४३ जनाको कोभिडको कारण निधन भएको छ । यो संख्या यूरोपको सबैभन्दा धेरै हो । हालसम्म अमेरिका, ब्राजिल, भारत र मेक्सिोको पछि यूकेमा धेरै मानविय क्षती भएको छ । तर, ती देशहरु मध्ये जनसंख्याको आधारमा यूके सबैभन्दा धेरै मृत्यु दर भएको देश बनेको अध्ययनले देखाएको छ । वर्ल्ड डाटाका संस्थापक म्याक्स रोजरले अरु देशहरुले महामारी सुरुवातको समयमा मृत्युदर कम गर्न निकै कामहरु गरेको बताए ।

यूकेमा विश्वमै धेरै व्यक्तिलाई कोेरोनाविरुद्धको खोप लगाइएको भएपनि संक्रमण र मृत्युदर दुवैमा कमी आउन सकेकोे छैन ।