लन्डनमा कामबाट फर्केदै गरेका नेपाली सेफको हत्या

लण्डन । लण्डनमा एक नेपाली युवकको हत्या भएको छ । काठमाडौं स्थायी घर भएका ३५ वर्षीय विक्रम केसीको आइतबार राति करिब साढे १० बजे लन्डनको इस्टकोट रेल स्टेसन अगाडि हत्या भएको हो ।

उनी त्यहाँको ‘सोसल ढाबा’ रेस्टुरेन्टमा कार्यरत थिए । कामबाट फर्कँदै गर्दा  एक युवाले कुटपिट गरेपछि उनको घट्नास्थलमै निधन भएको हो ।

प्रहरीले कुटपिट गरि केसीको हत्या गर्ने युवकलाई नियन्त्रणमा लिइसकेको छ । नियन्त्रणमा लिइएका युवकको पहिचान खुलिसकेको छैन । झगडाको कारणबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको स्थानिय  सञ्चार माध्यमहरूले जनाएका छन् ।

नेप्लिज सेफ एसोसिएसनका संरक्षक तथा एनआरएनए युरोप उपसंयोजक कृष्ण तिमल्सेनाले केसीको निधनमा गहिरो दुःख व्यक्त गर्दै सामाजिक संजालमा फोटो समेत सार्वजनिक गरेका थिए । उनकै पहलमा केसी बेलायत आएका थिए ।

यसैवीच, नेप्लिज सेफ एसोसिएसन युकेले हत्याको भत्र्सना गरेको छ । एसोसिएसन युके अध्यक्ष दधि आचार्यले केसीको हत्याराले कडा भन्दा कडा सजाय पाउनु पर्ने र पीडितले क्षतिपुर्ति दिन संस्थागत रुपमा पहल गर्ने जानकारी दिए। कोरोनाका कारण प्रत्यक्ष भेटघाट हुन नपाए पनि संस्थागत वा व्यक्तिगत सहयोगका लागि पहल भैरहेको आचार्यको भनाई थियो ।

मृतक केसी कुवेत हुँदै सन् २००७ मा लन्डन बस्दै आएका थिए । उनको साथमा त्यहाँ श्रीमती तथा भाइ बुहारी समेत थिए ।