वासिङ्टन डिसी । अमेरिकी संसदको दुबै सदनले राष्ट्रपतिमा विजयी डेमोक्रेट उम्मेदवार जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसको जीत सदर गरेको छ ।
पराजित उम्मेदवार बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्प प्रोत्साहित उदण्ड भीडले संसद भवनमा गरेको आक्रमणका बाबजुद चलेको संसदको संयुक्त बैठकले बाइडन र ह्यारिसको जीतलाई प्रमाणित गरेको हो ।
अमेरिकी संविधानको व्यवस्थाअनुसार ६ जनवरीका दिन बोलाइएको संसदको दुबै सदनको संयुक्त बैठकमा प्रत्येक राज्यबाट मिलेको जीतलाई औपचारिक रुपमा प्रतिनिधिहरुले सदर गरेका हुन् ।
दुबै सदनले पेनसिलवेनिया र एरिजोनामा मतगणनाको विषयमा दर्ता गराइएको आपत्तिलाई पनि खारेज गरिदिएको छ । इलेक्टोरल मतबारे नेभाडा, मिशिगन, विस्कन्सिन र जोर्जियाका सांसद्हरूको चुनौती भने सिनेट सदस्यको हस्ताक्षरको अभावमा तुहिएको थियो ।
उपराष्ट्रपति एवं सिनेटका अध्यक्ष माइक पेन्स र प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसीको उपस्थितिमा गरिएको परिणाम सदर सभामा बाइडनको पक्षमा ३०६ र ट्रम्पको पक्षमा २३२ इलेक्टोरल मत परेको पुष्टि गरिएको थियो ।
राष्ट्रपति पदमा निर्वाचित हुन २७० इलेक्टोरल मत आवश्यक पर्दछ । संसदले प्रमाणीकरण गरेसँगै राष्ट्रपति बाइडेन र उपराष्ट्रपति ह्यारिसले जनवरी २१ देखि आफ्नो कार्यभार सम्हाल्नु हुनेछ ।
राष्ट्रपति ट्रम्पका समर्थकले मच्चाउन सक्ने दंगालाई मध्यनजर गर्दै वासिङ्टन डिसी शहरमा जनवरी २१ सम्म संकटकाल पनि लगाइएको छ ।






