मर्मतका लागि कालीगण्डकी ‘ए’ बन्द, लोडसेडिङ बढ्ने

Hydro
काठमाडौँ- कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनामा देखिएको समस्या समाधानका लागि एक हप्ता परियोजना बन्द गरिएको छ ।

स्याङ्जाको मिर्मीमा रहेको आयोजना मर्मतका लागि आज बिहानदेखि बन्द गरिएको आयोजना प्रमुख श्रीरामराज पाण्डेले जानकारी दिनुभयो ।

प्रमुख पाण्डेका अनुसार सुरुङबाट पेनस्टक हुँदै टर्वाइनसम्म पानी पठाउने पाइपको मुख्यद्वारमा समस्या देखिएपछि मर्मतका लागि उत्पादन बन्द गरी मर्मत सुरु गरिएको हो ।

उहाँले कम्तीमा पनि मर्मतका लागि एक साता समय लाग्ने बताउनुभयो । ‘‘हामीले सात दिनभित्रै मर्मत सम्पन्न गर्ने गरी आयोजना बन्द गरेका छौँ, एकाध दिन तलमाथि पनि हुन सक्छ’,’ प्रमुख पाण्डेले भन्नुभयो, ‘‘आयोजना बन्द हँुदा पर्नजाने समस्याप्रति हामी सचेत छौँ, चाँडोभन्दा चाँडो मर्मत गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’’

कुल १४४ मेगावाट क्षमताको सो आयोजनाको आज बिहानसम्म ९० मेगावाट विद्युत् उत्पादन गर्दै आएको थियो । एउटा युनिट मर्मत गर्न अरू पनि बन्द गर्नुपर्ने भएकाले लोडसेडिङ बढ्ने सम्भावना छ ।