नेपालको कानुनले गर्दा भारतीयहरुले आत्महत्या समेत गर्न परेको छ : भारतीय राजदूत

भैरहवा, वैशाख ११ – नेपालमा रहेको विद्यमान कानुनको कारण भारतीय सवारी धनीले सास्ती भोग्नु परेको नेपालका लागी भारतीय राजदुत रन्जीत रे ले दावी गरेका छन् । भारतीय गाडीले कानुन मिचेकै हो भने एक निश्चित जरिवाना रकम लिएर कार्यवाही गर्नुको सट्टा सवारी नै लिलाम गर्ने गरेको कारण भारतीयहरु आत्महत्या गर्न समेत बाध्य भएको उनले बताए ।

भारतबाट नेपाल भ्रमण आउने पर्यटकहरुलाई नेपाल प्रहरी र प्रशासनले प्रत्येक १० किलोमिटरमा बसी रकम असुलने गरेको उनले आरोप लगाएका छन् । सिद्धार्थ नगर उद्योग वाणिज्य संघ भैरहवाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै राजदुत रेले यस्तो समस्या समाधानको लागी मोटर भेहिकल सम्झौता चाँडै लागु पर्नेमा जोड दिएका छन् । मोटर भेहिकल सम्झौता भई सकेको तर नेपालको बिद्यमान कानुनको कारण त्यसलाई कार्यान्वयनमा ल्याउन कठिनाई भएको उनले बताए ।

कानुन संशोधनको लागी आफुले सम्बन्धि ठाउमा पठाएको र अब दुवै देशको यो समस्या समाधान हुनेमा आफु बिश्वस्त रहेको उनले बताए । रेको भनाई पछि नेपाल र भारतको पारस्परिक सम्बन्धलाई हेर्दै दुवै देशमा निर्वाध रुपमा आजत जावत गर्नको लागी चाँडै नै दुवै देशले “मोटर भेहिकल” सम्झौता हुने वातावरण बनेको छ ।

स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भारतबाट नेपाल र नेपालबाट भारत आएने जाने महङ्गो गाडीहरु कागजातकै अभावमा चलान हुने गरेको बताउँदै अब चाँडै नै यो समस्या समाधान हुने आश्वसन दिएका छन् । अब गरिने सम्झौता अनुसार दुवै देशका सवारी साधनहरु एक साताको लागी बिना कुनै शुल्क अथवा कर निर्वाध रुपमा एक अर्काको देशमा आउन जाने सुविधा प्रदान गर्ने तयारी भैरहेको बताए ।

यसै गरि भारतको नौतनवा बाट नजिक पर्ने नेपाली भूमि मर्चवारमा रेलवे विस्तार गरि समानहरु अनलोड गर्ने बिषयमा समेत सर्वे भैरहेको उनले जानकारी गराए । भारत सरकार नेपाली सीमा सम्म रेलवे विस्तार गरे यस क्षेत्रका उद्योगी ब्यावसायीले साथ दिने र जिल्लावासीले सस्तो मूल्यमा जग्गा उपलब्ध गराउने रुपन्देही क्षेत्र नं. २ का सभासद इश्तियाक अहमद खानले बताए ।

यसै गरि दुई देशीय सम्झौताअनुसार भारतको मुजफ्फरपुर हुँदै नेपालको ढल्केवर सम्म १३२ केभीको विद्युत विस्तार भए पनि नेपालको आन्तरिक विस्तार समस्याका कारण विद्युतीय समस्या रहेको उनले दावी गरे ।

अन्तरक्रिया कार्यक्रममा सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष राम कुमार शर्माको अध्यक्षता, महासचिव भिष्म न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा भारतीय मेजर नागेन्द्र सिंह, सभासद दिलमान सिंश पाख्रीन लगायको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा संघका सल्लाहकार बिदुर ढुङ्गाना, उद्धव कार्की, उपाध्यक्ष शान्त कुमार शर्मा, पूर्व अध्यक्ष बिष्णु शर्मा, सदस्य हरिश सेठिया, गोविन्द ज्ञवाली, नेपाल भारत अवध मैत्री समाजका राजेन्द्र गुप्ता, अजय कुमार गुप्ता लगायतले नेपाली र भारतीयहरुले सीमामा भोग्दै आएको दुई देशीय समस्याबारे राजदुतलाई जानकारी गराएका थिए ।