उत्पादनशील उद्योगलाई फापेन लोकतन्त्र

११ वैशाख, काठमाडौं । ०६२/६३ को आन्दोलनमा मुलुकको वैदेशिक व्यापार घाटा सवा खर्ब रुपैयाँको हाराहारीमा थियो । लोकतान्त्रिक शासन सुरु भएको ९ वर्षमा व्यापार घाटा चुलिँदै ७ खर्ब पुग्न आँटेको छ ।

loss

द्वन्द्वकालमा धरासायी भएका उद्योगधन्दा लोकतन्त्रको सुरुवातसँगै फस्टाउने अपेक्षा उद्योगी व्यवसायीहरुमा थियो । द्वन्द्वबाट विस्थापित भई शहर पस्नेहरु लोकन्त्र आएपछि गाउँ फर्किएर कृषि पेशालाई निरन्तरता दिने अपेक्षा धेरैले गरेका थिए ।

तर, यसलाई दुर्भाग्य नै मान्नुपर्छ, लोकतन्त्र आएको लामो समय बितिसक्दा पनि औद्योगिक र कृषि क्षेत्रमा सकारात्मक प्रभाव पर्न सकेन । यसैको फलस्वरुप अहिले हामी वर्षेनी खर्बौं रुपैयाँको व्यापार घाटा ब्यहोर्न बाध्य भइरहेका छौं ।

पछिल्लो समयको व्यापार अवस्था हेर्दा नेपालको निर्यात घटिरहेको छ भने आयात उच्च दरले बढिरहेको छ । लोकतन्त्र आएको वर्ष ०६३ देखि २०७१ फागुनसम्म आइपुग्दा व्यापार घाटा डरलाग्दो किसिमले चुलिएको छ ।

व्यापार घाटाको तुलनात्मक अवस्था

आर्थिक वर्ष ०६३/६४ मा व्यापार घाटा एक खर्ब ३५ अर्ब ३१ करोड रुपैयाँ थियो । चालु आर्थिक वर्षको अन्त्यसम्म व्यापार घाटा बढेर ७ अर्ब पुग्ने अनुमान गरिएको छ ।

लोकतन्त्रले परनिर्भरता घटाउला भन्ने अपेक्षा विपरीत बढाउँदै लगेको छ । नेपालको व्यापार घाटा बढाउन पेट्रोलियम पदार्थ, कृषिजन्य वस्तुहरु, सवारीसाधन, सुनचाँदी, फलाम तथा स्टिलजन्य वस्तुहरु लगायतको उच्च भूमिका रहेको देखिएको छ ।

लोकतन्त्र आएपछि मुलुकमा बढ्दै गइरहेका सवारी साधन र खाना पकाउने ग्यासको प्रयोगबाट पेट्रोलियम पदार्थको आयात खर्ब नाघ्न थालेको छ । सवारी साधन पनि वाषिर्क ४० अर्बको हाराहारीमा आयात हुने गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

लोकतन्त्रमा व्यापार घाटा (करोडमा)

आर्थिक वर्ष निर्यात आयात व्यापार घाटा
२०६२/०६३ ६०२३ १७३७८ -११३५४
२०६३/०६४ ५९३८ १९४६९ -१३५३१
२०६४/०६५ ६०७८ २२६११ -१६५३३
२०६५/०६६ ६७६९ २८४४६ -२१६७७
२०६६/०६७ ६११३ ३७८८० -३१७६७
२०६७/०६८ ६४५६ ३९४९० -३३०३४
२०६८/०६९ ७४२६ ४६१६७ -३८७४१
२०६९/०७० ७६९२ ५५६७४ -४७९८२
२०७०/०७१ ९०२९ ७०८७६ -६१८४७
२०७१/०७२ (८ महिना) ५६८६ ५०५९१ -४४९०५
२०७१/७२ (अनुमानित) ८५२९ ७५८८६ -६७३५७

स्रोतः नेपाल राष्ट्र बैंक

नेपाल उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष पशुपति मुरारकाका अनुसार बितेका वर्षहरुमा निर्यातयोग्य वस्तु उत्पादन निकै कम भयो । सरकारले एकीकृत व्यापार रणनीति कार्यक्रममार्फत प्रवर्द्धन गरेका वस्तुहरुको निर्यात शुन्य सरह रहन पुग्यो । व्यापार घाटालाई न्यूनीकरण गर्न सहयोग पुर्‍याउने कृषि क्षेत्रको अधोगति भइरहेको बताउँछन् उनी ।

कृषि पेशा गर्ने युवाहरु रोजगारीको खोजीमा विदेशिन थालेपछि अधिकांश खेतीयोग्य जमिन बाँझो रहने गरेको छ । जसले गर्दा कृषि प्रधान मुलुक भनेर चिनिने नेपालमा २० अर्ब बढीको खाद्यन्न आयात हुन थालेको छ । यसको मात्रा हरेक वर्ष बढ्दै गइरहेको छ ।

सन् २००४ मा नेपाल विश्व व्यापार संगठन (डब्ल्युटीओ)को सदस्य भएपछि व्यापार घाटा झनै चुलीयो

व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका अनुसार नेपालमा वाषिर्क खर्ब रुपैयाँ बढीको कृषिजन्य वस्तुहरु आयात हुँदै आएको छ ।

नेपालमा सियो पनि बन्दैन भन्ने आम नेपाली धारणामा जुत्ता, औषधि, सिमेन्ट उद्योग लगायतले केही मात्रामा चिर्न सफल भए पनि व्यापार घाटा ज्यूँका त्यूँ छ ।

सन् २००४ मा नेपाल विश्व व्यापार संगठन (डब्ल्युटीओ)को सदस्य भएपछि व्यापार घाटा झनै चुलीमा पुग्न मद्दत पुग्यो । विश्व व्यापार संगठनको सदस्य भएपछि अमेरिका लगायतका मुलुकबाट पाएको कोटा पनि खारेज हुन पुग्यो ।

डब्ल्युटीओको सदस्य भएसँगै नेपाली वस्तुहरुले विदेशी वस्तुहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने भयो । जसले गर्दा पनि नेपाली वस्तुको निर्यात कम हुन थाल्यो भने विदेशी वस्तुहरुको आयात बढ्न थाल्यो । डब्ल्युटीओको सदस्य भइसकेपछि कुनै पनि देशबाट गरिने आयातमा विना कारण प्रतिवन्ध लगाउन पाइँदैन ।