लण्डन । बेलायतमा कोरोनाभाइरस विरुद्ध लगाइने दोस्रो खोपले पनि अनुमति पाएको छ ।
अक्सफर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाले बनाएको खोपले यूकेमा प्रयोगका लागि अनुमति पाएको हो ।
खोपलाई धेरै कम तापक्रममा भण्डारण गर्नुपर्ने बाध्यता नभएकाले निकै उपयोगी हुने अपेक्षा गरिएको बेलायती स्वास्थ्य वैज्ञानिकहरुले बताएका छन् ।
अनुमति पाएसँगै सरकारले यस खोपको १० करोड मात्रा झिकाइसकेको छ।
यसअघि डिसेम्बरमा फाइजर बायोएन्टेकले बनाएको खोपलाई प्रयोग थालिएको छ ।
हाल लाखौ व्यक्तिले यस खोप लगाइसकेका छन् भने लगाउने क्रम पनि जारी छ ।
बेलायती स्वास्थ्यमन्त्रीले ज्यानुअरी ४ देखि यो खोप दिन थालिने जानकारी दिए । उनका अनुसार नयाँवर्षका प्रारम्भिक साताहरूमा खोप अभियान तीव्र गतिमा अघि बढ्नेछ।
हाल बेलायतमा कोरोनाभाइरसको दोस्रो लहर फैलिरहेको छ । त्यसैगरी यूकेमै देखिएको कोरोनाको नयाँ प्रजाति अझै संक्रमक भनिएको छ ।
उक्त भाइरस हाल विश्वभरी फैलिने क्रममा रहेको कारण धेरै देशहरुले उच्च सतर्कता अपनाएका छन् ।






