लण्डन । शुक्रवार इसाई धर्मालम्वीहरुको सबैभन्दा ठूलो पर्व क्रिसमस । विश्वभरका इसाई धर्मालम्वीहरुले धुमधामका साथ मनाउँदैछन् । पछिल्लो समय इसाई मात्र होइन, देश विदेशमा रहेका गैर इसाईहरुले पनि यस पर्वलाई आत्मसाथ गर्दै आएका छन् ।
ईसाईहरुको सबैभन्दा ठूलो यो पर्वमा विभिन्न किसिमका कार्यक्रमहरु गरी धुमधामका साथ मनाउने गरिन्छ । यो पर्वसँग जोडिएका विभिन्न किसिमका चिह्न एवं संकेतहरुको कारण पनि यो पर्व सबैको साझा पर्वको रुपमा विकास भइरहेको देख्न सकिन्छ ।
हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् ।
दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।
क्रिसमस येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।
क्रिसमसका अवसरमा आज विश्वभरका चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ ।






