काठमाडौं, फाल्गुन १६ । एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चाका नेताहरुले कांग्रेस–एमालेललाई सहमतिका लागि दबाब दिन शनिबार राजधानीमा शक्ति प्रदर्शन र सभा गरिएको बताएका छन् । काठमाडौंको खुलामञ्चमा भएको सभामा मोर्चाका नेताहरुले परिवर्तनको एजेन्डालाई सम्बोधन गर्ने गरी जनआकांक्षाअनुरुपको संविधान बनाउन कांग्रेस–एमालेलाई दबाब दिनकै लागि सभा र जनप्रर्दशन गरिएको बताए । सभामा उनीहरुले कांग्रेस–एमाले सहमतिका लागि तयार नभए विद्रोह गर्ने र त्यही विद्रोहको बीचबाट संविधान जारी गर्ने चेतावनी दिए । सभालाई सम्बोधन गर्दै एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ‘वार्ता र सहमति वा द्धन्द्ध रोज्ने भन्ने बल कांग्रेस–एमालेको कोर्टमा रहेको’ बताए । उनले ‘आफू मर्न तयार भएपनि झुक्न तयार नरहेको’ समेत बताए । अध्यक्ष दाहालले ‘कांग्रेस–एमालेकै कारण बन्नै लागेको सहमति भाँडिएको’ आरोप समेत लगाए । उनले ‘आफूहरुले एकल जातीय पहिचानको नभइ पिछडिएको वर्ग र समुदायको हितमा आवाज उठाएको’ दाबी समेत गरे ।
एमालेप्रति निकै आक्रामक ढंगले प्रस्तुत भएका दाहालले एमाले आफ्ना सबै एजेन्डा छोडेर कांग्रेससंँग टाँसिन पुगेको भन्दै आक्रोश समेत पोखे ।
सभामा, एकीकृत माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले एमाओवादीलाई कमजोर नठान्न चेतावनी दिए । ‘बाघ दुब्लाए पनि र बुढो भएपनि कमजोर नहुने’ उनको भनाइ थियो ।
यस्तै, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयुकमार गच्छदारले एमाले र कांग्रेसले विगतका सहमति तोडेका कारण आफूहरु आन्दोलन गर्न बाध्य भएको बताए । सभामा मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादबले पहिचानसहितको संघीयताको ग्यारेन्टी नहुँदासम्म कांग्रेस–एमालेसँग वार्ता नहुने स्पष्ट पारे । सहमति नभएको अवस्थामा आफूहरुसँग विद्रोह गर्नुको विकल्प नहुने उनको भनाइ थियो । सभालाई सम्बोधन गर्दै मोर्चाका अन्य नेताहरुले आफूहरु वार्ताबाटै जारी राजनीतिक गतिरोधको निकास खोज्न तयार रहेको बताएका थिए ।
यसअघि राजधानीका विभिन्न स्थानबाट निस्केको जुलुस खुलामञ्चमा पुगेको थियो । माइतीघर, चाबहिल, बालाजु, कालिमाटी, लगनखेल, स्वयम्भु, बसन्तपुर, त्रिपुरेश्वर र बबरमहलबाट निस्केको जुलुस खुलामञ्च पुगेर सभामा परिणत भएको थियो ।
सभामा सहभागी हुन लाठीसहित आएका मोर्चाका कार्यकर्तासँग प्रहरीले विभिन्न स्थानबाट लाठी बरामद गरेको थियो । नयाँ बानेश्वरमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । तीनकुनेबाट अगाडि बढेको जुलुस निषेधित क्षेत्र घोषणा गरेको संविधानसभा भवननजिक आइपुग्दा प्रहरीले रोक लगाएपछि झडप भएको हो । झडपमा १२ जना प्रदर्शनकारी र चार प्रहरी घाइते भएका छन् । त्यसक्रममा दुईजना सन्चारकर्मी समेत घाइते भएका छन् । झडपपछि प्रहरी घेरा र निषेधित क्षेत्र तोड्दै प्रदर्शनकारी सभास्थल खुलामञ्च पुगेका थिए ।
मर्न तयार छु, झुक्न तयार छैन : प्रचण्ड






