लन्डन-लन्डनस्थित गोल्डेन सिप रेस्टुरेन्टमा नेपालमा हालै आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारहरूको सहयोगार्थ आयोजित विशेष च्यारिटी डिनर नाइट कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार साँझ सम्पन्न कार्यक्रममा लाइभ संगीत, स्वादिष्ट डिनर तथा राफल ड्रको आकर्षक व्यवस्था गरिएको थियो। South Harrow Traders Association र Golden Sip रेस्टुरेन्टको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा पूर्व बेलायती मन्त्री तथा सांसद गरेथ थोमस, स्थानीय मेयर Cllr योगेश तेली, पूर्व मेयर सलीम चौधरी लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। उहाँहरूले नेपालमा आएको विनाशकारी बाढीप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली जनताप्रति ऐक्यबद्धता जनाउनुभयो।
यस कठिन घडीमा बेलायत सरकारबाट आवश्यक मानवीय सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त हुनु नेपाली समुदायका लागि महत्वपूर्ण आश्वासनका रूपमा लिइएको छ।
कार्यक्रममा वरिष्ठ अभियन्ता तथा विश्लेषक आर. के. त्रिपाठी लगायत विभिन्न नेपाली तथा अन्य समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
उक्त च्यारिटी कार्यक्रमबाट २५०० पाउण्ड (करिब ५ लाख रुपैयाँ) संकलन भएको रेस्टुरेन्टका सञ्चालक दिपेन गुरुङले जानकारी दिनुभयो।
संकलित रकम रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको उहाँले बताउनुभयो।
आयोजकले कार्यक्रममा सहभागी भई मानवताको सेवामा साथ दिने सम्पूर्णप्रति आभार व्यक्त गर्दै यसलाई मातृभूमिप्रतिको भावनात्मक ऐक्यबद्धताको प्रतीक भएको उल्लेख गरेका छन्।







