मुलुकभर लोकतन्त्र दिवस मनाइँदै

काठमाडौं, ११ वैशाख । लोकतान्त्रिक जनआन्दोलन सम्पन्न भएको दिन वैशाख ११ गते आज मुलुकभर विभिन्न कार्यक्रमका साथ लोकतन्त्र दिवस मनाइँदैछ । विसं २०६२-६३ को आन्दोलन २०६३ साल वैशाख ११ गते संसद् पुनःस्थापना भएपछि सम्पन्न भएको थियो । नेपालमा दश वर्षसम्म सशस्त्र सङ्घर्षरत माओवादीलाई पनि शान्तिपूर्ण आन्दोलनमा ल्याउने आधारका रूपमा रहेको सो आन्दोलनलाई नेपालको राजनीतिक यात्रामा अत्यन्त महत्वपूर्ण रूपमा लिइन्छ ।
यसैका जगमा तत्कालीन नेकपा (माआवादी) र सरकारबीच विस्तृत शान्ति सम्झौता सम्पन्न भई जारी गरिएको नेपालको अन्तरिम संविधान २०६३ र नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको घोषणा गरिएको थियो । देशलाई समृद्धिको मार्गमा उन्मुख गराउन संविधानसभा सम्मको यात्रा यही आन्दोलनको उपलब्धि स्वरूप अघि बढे पनि अवरुद्ध संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पु-याउनु अहिलेको मुख्य चुनौती बनेको छ ।
दलोकतान्त्रिक जनआन्दोलनको सफलताका लागि जनताका तर्फबाट धेरै बलिदानी गरिए पनि देशमा जारी अस्थिरताले सबैलाई चिन्तित बनाएको छ । ऐतिहासिक जनआन्दोलन २०६२-६३ सहिद परिवार तथा घाइते सरोकार समितिका अध्यक्ष मेघराज आचार्य नेपाली जनताले ज्यानको परवा नगरी आन्दोलन सफल बनाए पनि उक्त योगदानको कदर हुन नसकेको दुःखेसो व्यक्त गर्नुहुन्छ । जनताको सङ्घर्षले दल तथा नेतालाई राज्य सत्तामा पु-याए पनि लामो समयसम्म संविधान दिन नसक्नु र योगदान गर्नेलाई बेवास्ता गरिनुले जनआन्दोलनका घाइते तथा सहित परिवारका सदस्यको भावनामा ठेस लागेको उहाँको भनाइ छ ।
लोकतान्त्रिक जनआन्दोलनका क्रममा विश्वविद्यालय क्याम्पस, कीर्तिपुरबाट पक्राउ भई प्रहरी हिरासतमा चरम यातना पाएका विद्यार्थी नेता राजनप्रसाद खतिवडाले जनआन्दोलनका सहिद परिवार, घाइते तथा यातना पीडितको योगदानलाई राज्यले बिर्सन नहुने बताउनुभयो । जनताको बलिदानबाट नै २०६२-२०६३ को आन्दोलनले सफलता पाएका कारण उनीहरूको योगदानको उचित कदर हुनुपर्ने उहाँको भनाइ छ ।