काठमाडौँ, ११ वैशाख । विभिन्न सङ्घसङ्गठनले प्राणी हिंसा अन्त्यका लागि एकीकृत महाअभियान सुरु गरेका छन् । यही वैशाख ८ गते काठमाडौँबाट सुरु गरिएको अभियानका लागि नेपाल एनिमल बेलफेयर एन्ड रिसर्च सेन्टर, एनिमल वेलफेयर नेटवर्क नेपाल, नेपाल केनल क्लब, माउन्ट एभरेस्ट केनल क्लब, श्रीकृष्ण प्रणामी युवा परिषद्, ब्रह्माकुमारी राजयोग केन्द्र, विश्व जागरण अभियान, ओशो तपोवन, नेपाल शाकाहारी सङ्घ सक्रियलगायत सक्रिय छन् । ‘शाकाहारी बनौँ’ भन्ने नाराका साथ गरिएको अभियानले संयुक्त रुपमा प्राणी हिंसा रोक्न जनचेतनात्मक कार्यक्रम गर्दै आएको छ ।
नेपालमा प्राणी हिंसा अन्त्यका लागि कुनै कानुनी व्यवस्था नभएको र विभिन्न संस्कार, परम्पराका नाममा प्राणी हिंसा गरिने भएकाले यसको अन्त्यका लागि सो महाअभियान सुरु गरिएको महाअभियानका संयोजक आरम्भ सिलवालले बताउनुभयो । ‘आमाले बच्चा खाँदिनन्, देवीले बलि माग्दिनन्’ भन्ने नाराका साथ सुरु गरिएको सो महाअभियान नेपालबाट प्राणी हिंसा अन्त्य नभएसम्म जारी रहने उहाँले जानकारी दिनुभयो । सिलवालले भन्नुभयो– “विश्वमा भइरहेका विभिन्न हत्या हिंसा शृङ्खलाको सुरुआत नै प्राणी हिंसाबाट भएकाले यसको जरा हामी काट्न चाहन्छौँ ।”
आमाले बच्चा खाँदिनन्, देवीले बलि माग्दिनन्






