काठमाडौँ – सर्वसाधारणका लागि नौ महिनासम्म बन्द गरिएको पशुपतिनाथ मन्दिर बुधबारदेखि खुला भएको छ ।
कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले गएको चैत दोस्रो हप्तादेखि लागु गरेको देशव्यापी लकडाउनयता सर्वसाधारणले पशुपतिनाथ दर्शन गर्न पाएका थिएनन् ।
मन्दिरलगायतका क्षेत्रहरु क्रमसः खोल्दै लाने सरकारी नीतिअनुसार बुधबारदेखि पशुपति खुला गरिएको हो ।
यसअघि मंगलबार मन्दिरमा क्षामा पूजासमेत सम्पन्न भएको थियो । प्राचीनकालदेखि नित्य पूजा हुँदै आएको मन्दिर लामो समयदेखि बन्द हुँदा राष्ट्रपति विद्यादेवी भण्डारीसमेतको उपस्थितिमा क्षामापूजा भएको हो ।
मन्दिरका दर्शनार्थीहरुले अनिवार्य रुपमा स्वास्थ्य सुरक्षा मापदन्ड पूरा गरेको हुनुपर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । अहिले मन्दिरको पश्चिम ढोकामात्र खोलिएको छ ।
भक्तजनले पश्चिम ढोकाबाट मन्दिर प्रवेश गर्ने र सोही ढोकाबाट बाहिर निस्कनुपर्नेछ । पशुपतिनाथ मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल सुरु हुने छैन ।






