पार्टीका अन्तर्घातीलाई कारबाही हुन्छ : देउवा

काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा पार्टीका विरुद्ध अन्तर्घात गर्नेलाई तत्काल कारबाही हुने बताउनुभएको छ ।

तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनका सन्दर्भमा आयोजित ‘छलफल कार्यक्रम’लाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘पार्टीभित्रकै अन्तर्घातका कारण स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा काँग्रेस पहिलो पार्टी बन्नबाट बन्चित भएको छ ।’

सभापति देउवाले ‘निर्वाचनमा उम्मेदवारका आंकाक्षी धेरै हुनु स्वभाविक हो, तर आफूले टिकट पाएमात्र जितिन्छ भन्ने भ्रम पाल्नु हुँदैन भन्दै पार्टीभित्र अन्तर्घात गर्नेलाई अनुशासन समिति बनाएर तत्काल कारबाही गर्ने स्पष्ट पार्नुभयो ।

आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन व्यक्तिगत स्वार्थ छोडी एक ढिक्का भएर लाग्न सबैलाई निर्देशन दिँदै उहाँले प्रदेश नं २ को स्थानीय तहको निर्वाचनका लागि डेढ महिनाअघि नै उम्मेदवार चयन गरिसक्ने जानकारी गराउनुभयो ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले उत्पीडित जनतालाई अधिकार दिलाउन स्थानीय निर्वाचन अपरिहार्य भएको बताउँदै स्थानीय तहको आगामी निर्वाचनमा मधेस केन्द्रित दल सहभागी हुने विश्वास व्यक्त गर्नुभयो । ‘मधेसको पक्ष र विपक्षमा को छ भन्ने प्रष्ट पार्नका लागि पनि संविधान संशोधन प्रस्ताव प्रक्रियामा अघि बढाउनुपर्दछ’, उहाँले भन्नुभयो – ‘पार्टीको गुटउपगुटभन्दा माथि उठेर टिकट वितरण गर्न सक्नुपर्दछ ।’