सोंपाल समाज यूकेले स्याङ्जामा बाढ्यो ४२ परिवारलाई नगद रु १ लाख ८८ हजार राहत

लन्डन । सोंपाल समाज यूके परिवारले स्याङ्जाको विभिन्न स्थानमा राहतस्वरुप वितरणका लागि १ लाख ८८ हजार २ सय ८३ रुपैयाँ नगद पठाएको छ । उक्त रकम स्याङ्जा जिल्लाको सिरुवारी, दरौ,माझकटेरी र बेझांगका कम आयश्रोत भएका सर्वसाधारणलाई वितरण गरिएको छ।

समाजले पठाएको उक्त रकममध्ये हिजो आइतबार माझकटेरी बेझाङ गाउँका १५७ घर परिवारहरुलाई  वितरण गरिएको समाजका अध्यक्ष युक्त गुरुङले लन्डन नेपाल न्युजलाई जानकारी दिए।

समाजका महासचिव भरत गुरुङका अनुसार सोंपाल समाज युके कार्यसमिति सदस्य धनबहादुर गुरुङ मार्फत राहत वितरणका गरिएको थियो ।यस अवस्थालाई मध्यनजर गर्दै, सोंपाल समाज युकेले, अध्यक्ष युक्त गुरुङको निर्देशनमा भिडियो कन्फरेन्स गरी, सोंपाल युकेकै सदस्यहरु बाट कोभिड -१९ राहत रकम संकलन गरि आफ्नै गाउँ र क्षेत्रका अभाव ग्रस्त पीडित परिवारहरू लाई सहयोग गर्ने निर्णय भएको कारण सोंपाल समाज युकेले रू १,८८,२८३ संकलन गरी सोंपालका (दरौं, सिरुबारी र माझकटेरी बेझाङ) गाउँका १५७ पीडित परिवारहरुलाई सोंपाल समाज युके कार्य समितिका सदस्य  धन बहादुर गुरुङको प्रतिनिधित्वमा राहत रु १५०० को दरले उक्त नगद वितरण गरेका थिए ।

महासचिव गुरुङले लन्डन नेपाल न्युजसँग भने, कोरोना संक्रमणले समस्यामा परेका माझकटेरी बेझाङ गाउँका सर्वसाधारणलाई राहत पुगोस् भनेर सहयोग उपलब्ध गराइएको हो ।दरौ र सिरुबारीमा सोमबार र मंगलबार राहत वितरण गरिने जानकारी महासचिव गुरुङले दिए ।

यसअघि सोंपाल समाज यूकेद्वारा स्याङ्जामा प्रदान गरिएको एम्वुलेन्सले पुरौ गाउँलाई महामारीको बेला ठुलो टेवा दिएको समाजका सलाहाकार डेबिड गुरुङले बताए ।

सोंपाल समाज नेपालको गण्डकी प्रदेशमा पर्ने स्याङ्जा जिल्लाको सिरुवारी, दरौ, माझकटेरी र बेझांगका गुरुङहरु आफ्नो मूल थलोबाट बेलायतमा बसोबास गर्ने सबैलाई एकताको सूत्रमा बाध्ने उद्देश्यले बिशुद्ध सामाजिक संस्थाको रुपमा स्थापना भएको संस्था हो ।