लण्डन । नेप्लिज नर्सिङ एसोसिएसन यूके एनएनएयूकेले नेपालका दुई जिल्लामा रहेका अस्पतालहरुमा स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ।
विश्वभर फैलिरहेको कोरोनाभाइरस महामारीकोे उच्च संक्रमण रहेका क्षेत्रमा स्वास्थ्य सेवा दिइरहेका लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देही र कोशी अञ्चल अस्पताल विराटनगरको लागि स्वासप्रश्वास सम्बन्धी स्वास्थ्य सामग्री अर्थात भेन्टिलेटर सहयोग गर्न लागिएको हो ।
जसको लागि संस्थाले हाल कोष स्थापनाको काम गरिरहेको छ । सुरुवातमा ५ हजार पाउण्ड रकम संकलन गर्ने र बाकी संस्थाको कोषबाट रकम जुटाएर भेन्टिलेटर खरिद गरिने एसोसिएसनका अध्यक्ष विनोदविकास सिमखडाले जानकारी दिए ।
“पश्चिमी सीमासंग जोडिएका यी क्षेत्रहरुमा कोभिड १९ को समस्या बढरहेको छ, अस्पतालहरुमा स्वास्थ्य सामग्री अभाव हुँदा धेरै विरामीहरुलाई भेन्टिलेटर नपुगेको हुनाले हामीले सहयोग अभियान थालेका हौँ,” अध्यक्ष सिमखडाले भने, “सुुरुवातमा आफ्नै सदस्यहरुबाट फन्ड उठाउने योजना रहेको छ, क्रोइडन नेपाली कम्युनिटी, दार्टफोर्ड नेपाली समाज, ए स्टार फाइनान्सियल सर्भिस लगायतका संस्थाले पनि सहयोग गरेका छन् । ”
उनले यसरी स्वास्थ्य सामग्री सहयोग गर्नाले धेरै विरामीहरुले स्वास्थ्य सामग्री नपाएकै कारण अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता न्यूनिकरण हुने विश्वास व्यक्त गरे ।
एनएनएयूके बेलायत स्थित एक रजिष्टर्ड च्यारिटी कम्पनी हो जसले नेपालमा विपद्को बेला सहयोग गर्दै आएको छ। यसका साथै बेलायतमा आप्राबसी नेपाली नर्सहरुलाई सहयोग पुर्याउँदै आएको छ ।
अध्यक्ष सिमखडाले मानवियताको यस अभियानमा साथ दिन आग्रह गर्दै परोपकारी काममा लागेको संस्थाको अभियानलाई सफल पार्न समेत आग्रह गरे ।
कोरोनाभाइरस महामारीको कारण गत नोभेम्बरमा तोकिएको संस्थाको बार्षिक साधारण सभा हुन नसकेको कारण हाल रहेको कार्यसमितिलाई थप ६ महिना काम गर्ने समय दिइएकोे छ ।
सहयोग गर्न चाहने महानुभावले यहाँ क्लिक गर्न सकिने छ ।






