७० लाख घुस दिने इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपाने पक्राउ

काठमाडौँ । नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका पूर्वकार्यकारी अध्यक्ष लम्बोदरकुमार न्यौपानेलाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले न्यौपानलाई चण्डोलबाट पक्राउ गरेको सीआईबीका प्रमुख डीआईजी सहकुल थापाले जानकारी दिए ।

न्यौपाने तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घुस दिएको प्रकरणमा समेत मुछिएका छन् ।
न्यौपाने पाठकलाई ७० लाख घुस दिएको बिगोमा पक्राउ परेका थिए। अख्तियारले ७८ लाख रुपैयाँ धरौटी लिएर छोडेको थियो।

रामेछाप मन्थली नगरपालिका ८ स्थायी ठेगाना भएका न्यौपाने काठमाडौं ४ चण्डोल बसोबास गर्दै आएका थिए।

न्यौपानेविरूद्ध कात्तिक २४ गते ब्युरोले जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर गरेको छ। यसमा उनीसहित पाँच जनालाई प्रतिवादी बनाइएको छ।

उनीसहित पाँच जनाले इन्जिनियरिङ कलेजमा दुई कार्यकालसम्म काम गर्दा ८ करोड २१ लाख ५३ हजार ६५० रुपैयाँ ठगी गरेको मुद्दामा ब्युरोले अनुसन्धान गरिरहेको छ।

यस्तै, न्यौपानेविरूद्ध बेरुजुसहितको बिगो २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ माग गरिएको छ।

उक्त मुद्दामा ललितपुर महानगरपालिका ९ का नेपाली काँग्रेसका नेता सूर्यबहादुर केसी, वडा नम्बर ४ जावलाखेलका रामरत्न उपाध्याय, काठमाडौँ ४ विशालनगरका उपेन्द्र गौतम र बालुवाटारका लवराज भट्टराई प्रतिवादी छन्।

कांग्रेस सांसद केसीको भने निधन भइसकेको छ । न्यौपानेको नाममा मात्रै ३ करोड ७१ लाख ५३ हजार ६ सय ५० रुपैयाँ बराबरको ठगी गरेको आरोप छ ।