बर्दिवास बालिका हत्या प्रकरण : मृतक संजयलाई सहिद घोषणा गर्न माग

बर्दिबास । ६ वर्षीय बालिका गुलाब साह खातुनको हत्यारालाई कडा कारवाहीको माग गर्दै भएको आन्दोलनमा गोली लागेर मृत्यु भएका संजय न्यौपानेलाई सहिद घोषणा गर्न स्थानीयले माग गरेका छन् ।

बर्दिबासमा बसेको सर्वपक्षीय बैठकले सञ्जयलाई सहीद घोषणा गर्न माग गरेको हो । बैठकले आन्दोलनका घाइतेलाई उपचार तथा क्षतिपूर्ती दिनुपर्ने, आन्दोलनमा गोली चलाउन निर्देशन दिनेलाई तुरुन्त निलम्बन गरेर बर्खास्त गर्नुपर्ने, बालिकाको हत्यारालाई कडा कारवाही हुनुपर्ने माग गरेका छन् । यस्तै माग पूरा गर्न सरसकारसँग वार्ता गर्ने वार्ता टोलीसमेत गठन भएको छ ।

कांग्रेसका नेता चिरञ्जिवी हमालको संयोजकत्वमा ११ सदस्यीय वार्ता टोली गठन भएको हो ।

उपचारको क्रममा काठमाडौंमा मृत्यु भएका न्यौपानेको शव आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने परिवारजनले जनाएका छन् । आईतबारबाट हराएकी महोत्तरीको बर्दिबास– १४ स्थित शुभम् बस्तीकी ६ वर्षीय गुलाब साह खातुनको शव सोमबार मध्यराती बोरामा भेटिएको थियो । बालिका हत्याको आरोपमा गौशाला–५ का अरुण साहलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

घटनाको विरुद्धमा स्थानीयहरु आन्दोलित भएका थिए । भीड नियन्त्रण गर्र्न भन्दै प्रहरीले गोली चलाएको थियो। मंगलबार प्रदर्शनकारीहरुले हत्याका आरोपी शाहको घरमा आगो समेत लगाएका थिए ।