लण्डन । बेलायत स्थित यूनिभर्सिटी अफ अक्सफोर्डले कोरोनाभाइरसविरुद्ध बनाएको खोपले ७० प्रतिशत मानिसमा प्रभावकारी देखिएको छ । यसअघि फाइजर र मोडर्ना कम्पनीले बनाएका दुई छुट्टाछुट्टै खोपले ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने घोषणा गरिएको थियो।
तर ती दुई खोपभन्दा अक्सफर्डको खोप धेरै सस्तो हुने, सजिलै भण्डारण गर्न सकिने तथा संसारमा जहाँ पनि सहज रूपमा लैजान सकिने देखिएको छ।नियामक निकायबाट प्रयोग गर्न अनुमति प्राप्त भएमा यो खोपले कोरोनाभाइरसको वैश्विक महामारी नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।
खोप विकासका लागि प्रायः एक दशक लाग्ने प्रक्रिया अक्सफर्डका वैज्ञाननिकहरूले १० महिनामा सम्पन्न गरेका थिए। आजको घोषणाले हामीलाई खोपको प्रयोगबाट कोरोनाभाइरसका कारण सिर्जित विनाश अन्त्य गर्न अर्को पाइला अगाडि लगिदिएको छ उक्त खोप निर्माणकी योजनाकार प्राध्यापक सारा गिल्बर्टले भनिन्।
यूके सरकारले अक्सफर्ड खोपको १० करोड मात्रा लिने बताइसकेको छ। त्यो परिमाणको खोप पाँच करोड मानिन्छलाई पर्याप्त छ। यो खोप परीक्षणमा २० हजार स्वयंसेवकहरू सहभागी भएका थिए। तीमध्ये आधाभन्दा बढी यूकेमा र बाँकी ब्रजिलमा थिए।
दुई मात्रा खोप दिइएकामध्ये ३० जनालाई कोभिड भयो तर डमी अर्थात् नक्कली खोप दिएका १०१ जनालाई कोरोनाभाइरस सङ्क्रमण भयो।
अनुसन्धानकर्ताहरूका अनुसार यो खोपले ७० प्रतिशत सुरक्षा दिन्छ।स्वयंसेवकहरूलाई दुई चोटि उच्च मात्रामा खोप दिइँदा ६२ प्रतिशत सुरक्षा भएको देखियो। तर पहिलो पटक कम मात्रा र दोस्रो पटक उच्च मात्रामा खोप दिँदा सुरक्षा ९० प्रतिशतसम्म पुग्यो।
के कारणले त्यत्रो भिन्नता देखियो भन्ने कुरा स्पष्ट भएको बीबीसीले जनाएको छ ।






