लण्डन । बेलायतमा रहेका नेपालीहरुले आफूहरुको महान पर्व दीपावली अर्थात तिहार अवसरमा रमझमको साथ देउसी भैलो खेलेर मनाएका छन् ।
नेपाल कै शहरी क्षेत्रमा खेलिने देउसी भैलोमा विकृति थपिदैं गएको अवस्थामा देशबाहिर रहेर पनि यहाँ रहेका नेपालीहरुले परम्परागत रुपमा देउसी खेलेका हुन् । लण्डनका प्लम्स्टिड, वेलिङ्ग, डार्टफोर्ड लगायतका क्षेत्रमा सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूकेका अध्यक्ष माधव पराजुलीको नेतृत्वमा देउसी भैलो खेलिएको हो ।
दिपावलीको उज्यालो र रङ्गोलीले सजाइएको नेपाली समुदायका घरले छुट्टै पहिचान स्थानीयबासीलाई दिई रहेको बेला अझ गलामा सयपत्रीको माला, दौरा सुरुवाल, सारी चोलोमा सजिएर देउसुरेको धुन बजाउदै बासुरी र मादलको भाका हाल्दै देउसी खेल्दा बेलायतका स्थानीयहरुले समेत अचम्म मान्दै देउसी इन्जोय गरेका थिए ।
बाटोमा लस्करै देउसी खेल्नेको पंत्ति देख्दा स्थानीय बेलायतबासीहरु पनि रोकिएर हेरि रहेका थिए । बिश्वको जुनसुकै कुनामा पुगेता पनि आफ्नो रितीरिवाज जोगाउन र अर्को पुस्तालाई आफुले जानेको कुरा जति सक्छौं त्यति हस्तान्तरण गर्न उक्त देउसी खेलेको र यसलाई विशुद्ध पर्वकै रूपमा लिइएको अध्यक्ष पराजुलीले बताए ।
पर्व र रमाइलोको लागि देउसी खेलिएको भन्दै उनले यसमा आर्थिक संकलनको उद्देशय नराखिएको समेत बताए । साहित्यकार एवं संस्थाका पूर्व सचिव बिनोद न्यौपानेले आफ्नो परम्परा, संस्कृति आफ्नो निधि भएको भन्दै यसलाई परिस्कृत रूपमा भए पनि मनाउनपर्ने जोड दिए ।
गत बर्ष कोरोनाका कारण खेल्न नपाएको देउसी यसपटक भने विशेष उल्लासका साथ मनाइएको हो । भैली नृत्यमा स–साना नानीहरु रमाएको देख्दा यसले छुट्टै खुशी प्रदान गरेको पूर्व उपाध्यक्ष दीप गिरीले बताए ।
देउसी भैलो प्रचलनको किम्बदन्तीको बारेमा दिनेश पौड्यालले जानकारी गराउँदै शुरु गरिएको सो देउसीमा स्वागत गीत रमेश दाहालले, भट्ट्याउने तर्फ माधव पराजुली, दिनेश पौड्याल, रमेश दाहालले र आशिष दिनेमा चन्द्र कार्कीले प्रमुख भूमिका निर्वाह गरेका थिए । नेपाली मात्रैले खेल्ने विशिष्ट संस्कृतिमा पर्ने देउसी भैलाको संरक्षण गर्नुपर्नेमा संस्थाले जोड दिएको छ ।
बिदेशी भूमिमा स्वदेशको भाकामा देउसुरेको रङ्ग भर्दै साथ दिनेहरुमा पूर्व अध्यक्ष तथा गैरआवासीय नेपाली संघका पूर्व आईसीसी सदस्य अर्कराज तिम्सिना, टीका तिम्सिना, उपाध्यक्ष याम राय, कोषाध्यक्ष गोबिन्द महत, सह सचिव सबिता गिरी, पूर्व अध्यक्ष डा. नारायण भट्टराई, गीता भट्टराई, सचीव विनोद न्यौपाने, पूर्व सह–सचिव शर्मिला न्यौपाने, पूर्व उपाध्यक्ष बिमल अधिकारी, प्रमिला अधिकारी लगायतका थिए ।






