लण्डन । कोभिड–१९ को उच्च सङ्क्रमण जोखिमलाई न्यूनिकरण गर्न बेलायत सरकारले इंग्ल्याण्डमा घोेषणा गरेकोे लकडाउन आजबाट शुरु भएको छ । महामारी नियन्त्रणमा आइसकेको भनी विस्तरै खूकूलो बनाउँदै गएको सरकारले कोरोना संक्रमणको दोस्रो लहर बढ्दै गएपछि दोस्रो चरणको लकडाउन नोभेम्बर ५ देखि डिसेम्बर २ सम्मका लागि घोषणा गरेको होे ।प्रधानमन्त्री बोरिस जोन्सनले क्रिसमस अघि खुकुलो गर्ने गरि दोश्रो राष्ट्रिय लकडाउन घोषणा गरेका हुन्।
‘घरैमा बस्न’ निर्देशन दिइएको सो लकडाउनमा स्कुल, कलेज र विश्वविद्यालयहरु भने नियमित रुपमा खुल्ने भएका छन् । यो लकडाउनमा देशव्यापी रुपमा अत्यावश्यक बाहेकका सबै रिटेल पसल बन्द रहनेछन् तर सुपरमार्केटहरु खुला रहनेछन् ।
रिक्रियसन सेन्टर, हस्पिटालिटी क्षेत्रका पब, रेष्टुरेन्ट सबै बन्द रहनेछन् तर टेक–अवे, डेलिभरी सेवा खुला राख्न दिइनेछ ।मनोरन्जनस्थल, हेयर ड्रेसर, नेल सलुन, जिम, लुगा तथा विद्युतीय सामग्रीका पसल सबै बन्द हुनेछन् ।
घरैबाट काम गर्न नमिल्ने अवस्थामा कामका लागि कार्यालय जान सकिनेछ ।यसपटकको लकडाउन पनि कडा रुपमा पालना गर्न निर्देशन दिइएको छ । जसको कारण जनजीवन कष्टकर हुने देखिएकोे छ ।
कोभिड १९ महामारीका कारण बन्द र प्रभावित व्यवसायमा कार्यरत कर्मचारीको ८० प्रतिशतसम्म तलब सरकारले व्यहोर्ने गरेको ‘फर्लो स्कीम’ लम्ब्याउने भएपछि कामदारले भने राहत पाउने छन् ।
पछिल्लो समय बेलायतमा अघिल्लो दिन मात्रै २५ हजार बढी संक्रमित थपिएका थिए भने करिब ५ सय जनाले ज्यान गुमाएका थिए । हालसम्म यहाँँ कोेरोना संक्रमितको संख्या करिब एघार लाख पुगेको छ भने ४७ हजार बढीको ज्यान गैसकेको स्वास्थ्य विभागले जनाएको छ ।






