बेलायतमा गोर्खालीको सहयात्री बन्दै ‘क्यान’यूके

शिब भण्डारी

लण्डन । कम्युनिटिज एन्ड नेचर इन्टरनेशनल अर्थात क्यान युके बेलायतमा रहेका नेपाली समुदायको एक हिस्सा बन्न सफल भएको छ । खासगरी जातीय अल्पसंख्यक समुदायहरु, तथा यूकेमा रहेका नेपाली वृद्धवृद्धा र भाषागत रुपमा समस्या भोग्ने नेपालीहरुलाई क्यानले गरिरहेको सहयोग र सद्भावले पनि संस्था एक अभिभावकको रुपमा उभिएको सामाजिक अगुवाहरुले बताउने गरेका छन् ।

इँगल्याण्ड र स्कटल्याण्डमा च्यारिटी कम्पनीको रुपमा समुदायमा केही योगदान दिने उद्धेश्यका साथ ४ बर्ष अघि संस्था दर्ता भएको थियो । त्यसपछि अल्पसंख्या समुदाय र ज्येष्ठ नागरिकहरुलाईको कल्याणको निम्ती काम गर्दै आइरहेको छ ।

संस्थाका यूके संयोजक डा. बलराम ढकालले विशेषगरी नेपालीहरुको भाषागत, आवास, लगायतका समस्याहरुलाई समाधान गर्न काम गर्दै आइरहेको भन्दै हाल कोरोनाभाइरस महामारी देखा परेपछि ज्येष्ठ नागरिकहरुको निम्ती सुरक्षा सामग्री वितरण गर्ने अभियान थालेको जानकारी दिए ।

प्रकृति सँग सम्बन्धित गतिविधिहरु तथा अल्पसंख्यक र सीमान्तकृत समुदायको उत्थानको निम्ती कामहरु गर्दै आएरहेकोे यस संस्थाले बेलायतमा रहेका विभिन्न समुदायहरुर सँग साझेदारी तथा सहकार्य समेत गर्दै आएको छ । त्यसैगरी स्वयंसेवकको रुपमा काम गर्दै आइरहको यस संस्थाले नया पुस्ताहरुलाई समेत सामाजिक कार्र्यहरुमा अग्रसर गराउँदै आएको छ ।

सुरक्षा कवज वितरण केन्द्रित

पछिल्लो ९ महिनामा क्यानले कोरोनाभाइरस केन्द्रित सहयोगात्मक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । बेलयातको बिभिन्न ठाउहरूमा पुगेर समुदायहरूसंग सहकार्य गरी कोविड १९ बाट प्रभावित अल्डरसट, केन्ट (आसफोर्ड, फोकस्टोन), लन्डन (ह्रेरो), बेजिङस्टोक, टिडवर्थ, ननिटन लगयात अन्य ठाउहरूमा बुवाआमाहरुको लागि करीब २५ हजार थान मास्क र ५ हजार सेनिटाइजरहरु वितरण गरेको संस्थाले जनाएको छ ।

आइतवार मात्रै अल्डरशटको शिव कल्चरल सेन्टर र गुम्बामा पुगी कोरोनाभाइरसबाट बच्नको निम्ती अपनाइने सुरक्षा कवच भित्र पर्ने मास्क र सेनिटाइजर हस्तान्तरण गरिएको छ । कार्यक्रममा शिव कल्चरल कम्युनिटी सेन्टरका अध्यक्ष भिम बानियाँ एबम महासचिव बिक्रम भट्टराईले क्यान युकेलाई धन्यबाद ज्ञापन गरे।स्याङ्जा समाजको अगुवाईमा सम्पन्न भएको उक्त कार्यक्रमको संयोजन एलबिजेड गुरुङले गरेका थिए ।

केन्टमा नेपाली समुदायको नेतृत्व गर्दै आएका मेजर देव पुन पुन भन्छन, “बिगत केहि बर्ष देखी क्यान ईन्टरनेशनलले समुदायमा पुराएको सहयोग सराहनिय छ, हामी त्यसको लागि आभारी छौ।” क्यान ईन्टरनेशनलका निर्देशक तथा स्याङ्जा सामाज बेलायतका महासचिव डा बलराम ढकाल भन्छन्, “  हामीयस चुनौतीपूर्ण समयमा हाम्रा समुदायहरूलाई सहयोग गर्न पाउँदा धेरै खुसी छौं। हामी तपाईको सहयोगका लागि सबैलाई धन्यवाद दिन चाहन्छौं। आशा छ हामी भविष्यमा पनि एस्तै सहयोग कार्यक्रम ल्याउन सक्छौं र तपाईंको सहभागिता प्राप्त गर्न सक्दछौं।” हाल यस संस्थाले बेलायत मात्र नभएर मातृभूमि नेपालमा पनि असहाय विद्यार्थीहरुलाई आर्थिक सहयोग देखी सामुदायिक पुस्तकालय निर्माणमा सहयोग गरेको छ ।

त्यसैगरी नेपाल सँगै भारत र अफ्रिकामा पनि केही कार्यक्रमहरु सञ्चालन गर्न लागेको क्यान युकेका निर्देशक डा.बलराम ढकालले लन्डन नेपाल न्युज लाई जानकारी दिए । संस्थाले नेपाली समाजहरु सँग सहकार्य गरेर अघि बढ्न चाहेको बताउँदौ आगामी दिनमा पनि नेपाली समुदायको साथ र सहयोगको अपेक्षा गरिरहने बताए ।