एजेन्सी । न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डनको पार्टी शनिबार भएको आम निर्वाचनमा भारी मतले विजयी भएको छ ।
शनिवारको निर्वाचनमा लेबर पार्टीले एकल बहुमत हासिल गरेको छ । १२० सदस्सीय संसदमा लेबरले ६४ सीट जितेको छ । अझ महत्वपूर्ण कुरा ४९ प्रतिशत समानुपातिक भोट प्राप्त गरेको छ । न्युजिल्याण्डको यो चुनावलाई विश्वभरि उत्सुकताको साथ हेरिएको थियो । न्यूजिल्याण्डमा सन् १९९६ मा लागू भएको संसदीय प्रणाली (एमएमपी) पछि कुनै पनि पार्टीले बहुमत हासिल गरेको छैन ।
एक महिना अघि नै हुनुपर्ने चुनाव कोभिड–महामारीका कारण यो स्थगित गरिएको थियो । मतदान स्थानीय समयानुसार बिहान ९ बजे सुरु भयो जुन बेलुका ७ बजेसम्म खुल्ला गरिएको थियो । न्यूजिल्याण्डमा आम निर्वाचनका साथै जनतालाई दुई जनमतसंग्रहमा पनि मतदान गराइएको थियो ।
चुनाव आयोगका अनुसार लेबर पार्टीले ९ प्रतिशत, नेशनल पार्टीले २७ प्रतिशत र ग्रीन र एक्ट न्यूजिल्याण्ड पार्टीले ८–८ प्रतिशत भोट पाएका छन् । नेशनल पार्टीकी नेता जुडिथ कलिङ्ग्सले जसिन्डा आर्डर्नलाई बधाईसमेत दिइसकेकी छिन् ।
जीतपछि आफ्नो समर्थकलाई सम्बोधन गर्दै आर्डर्नले भनिन्, ‘न्यूजिल्याण्डले लेबर पार्टीलाई ५० वर्षमा सबैभन्दा ठूलो समर्थन दिएको छ । हामीले तपाईंको समर्थनलाई हल्का रुपमा लिने छैनौं । म बचन दिन चाहन्छु कि हाम्रो पार्टीले हरेक नागरिकका लागि काम गर्नेछ ।’
चुनाव अघि विश्लेषकले आर्डर्नको पार्टीले यति ठूलो जीत हासिल गर्ने कुरामा शंका व्यक्त गरेका थिए । युनिभर्सिटी अफ अकल्याण्डकी प्राध्यापक जेनिफर कर्टिनले यसअघि पनि पार्टी नेताले बहुमत पाउने आशा गरिएको थियो तर उनीहरु विफल भएका थिए ।
उनले भनेका थिए, ‘न्यूजिल्याण्डका मतदाता रणनीतिक मतदान गर्छन् र आफ्नो भोट पार्टीबीच बाँड्छन् । करिब ३० प्रतिशत मतदाता साना पार्टीलाई भोट दिन्छन् । यस्तोमा लेबर पार्टीले ५० प्रतिशत भोट हासिल गर्न मुश्किल हुनेछ ।’
आर्डर्नले आफ्नो चुनाव अभियानमा पर्यावरण सम्बन्धि नीति ल्याउने, पिछडिएका स्कूलका लागि थप आर्थिक सहयोग प्रदान गर्ने र धेरै आय भएका मानिसहरुमाथि अतिरिक्त कर लगाउने बचन दिएकी थिइन् ।
सन् २००८ को निर्वाचनमा उनी पहिलोपटक समानुपातिक संसद बनेकी थिइन् । त्यतिखेर उनी २८ वर्षकी थिइन् । लेबर प्रधानमन्त्री हेलेन क्लार्कको कार्यकालमा एक अनुसन्धानकर्ताको रुपमा उनी प्रधानमन्त्रीको कार्यालय छिरेकी थिइन् । क्लार्कले उनलाई जागिरेबाट लेबर एक्टिभिष्ट बनाइन् ।
सन् २०१७ मा ज्यासिन्डाले प्रत्यक्ष निर्वाचन निर्वाचन क्षेत्रबाट जितिन्, साथै चुनौतीहीन ढंगले लेबर पार्टीको नेता बनिन् । उनले नेतृत्व हासिल गर्दा लेबर पार्टीको जम्मा १४ सीट थियो । आफ्नो नेतृत्वकालको पहिलो चुनावमै ४६ सीटमा पुर्याएन । सन् २०१७ को चुनावमा उनको पार्टी दोस्रो भएको थियो । तर यसले उनलाई गठबन्धन सरकारको नेतृत्व गर्ने अवसर थियो । पहिलोपटक प्रधानमन्त्री हुँदा उनी ३७ वर्षको थिइन ।
ज्यासिन्डा प्रधानमन्त्री भएसँगै विश्व सञ्चार माध्यमको ध्यान उनीतिर तानियो । उनी निरन्तर चर्चा र प्रसंशाको पात्र बनिन् । युवा तथा महिला नेतृत्व उनीप्रतिको आकर्षणको एउटा कारण हुनसक्छ । तर, त्यो भन्दा बढी उनको चर्चा ‘गुणस्तरीय नेतृत्व’ को कारणले हुने गर्यो । उनको कार्यशैलीमा मानवीय संवेदनायुक्त सोच, चुस्त व्यवस्थापकीय क्षमता, जिम्मेबार अभिव्यक्ति, सुशासन, निरन्तर आर्थिक प्रगति, विपक्षीप्रतिको सहिष्णुता, समन्वय, सहकार्य र गतिशिलता अभिव्यक्त भए ।
विश्वभरि साँघुरो राष्ट्रवाद र डेमागग कार्यशैलीको बिगबिगी रहेको बेला उनी फरक प्रकारको राजनीतिक नेतृत्व बन्न पुगिन् । करिबकरिब थला परेको देशकै पुरानो पार्टीलाई नयाँ पुस्ताबीच उनले लोकप्रिय मात्र बनाइनन्, सरकारमा पनि पुर्याइन र शनिवारको चुनावपछि एकल बहुमत पनि हासिल गराइन् ।






