दशैंकाे खुसीयालीमा रमाए साउथ ईस्ट लण्डनबासी नेपाली

साउथ ईस्ट लण्डनमा दशैतिहारको रमझमलण्डन २५ असाेज ।  साउथ ईस्ट लण्डनका नेपालीहरूले अाफ्नाे देशकाे महानपर्व विजयादशमीकाे अवसरमा धुमधाम रमाइलाे गरेका छन्र । नेपालीहरुको दुई महान पर्व विजया दशमी र दिपावलीको अवसर पारेर दशैंतिहार रमझम कार्यक्रम आयोजना गरी रमाइलाे गरीएकाे हाे ।

स्थानीय ग्रिनविच बरोमा बस्ने सबै नेपालीहरुलाई एक ठाउंमा भेला गराएर दशैंतिहारको शुभकामना बांड्ने उद्धेश्यले स्थानीय रोयल ग्रिनवीच नेपालिज  सोसाइटीले सो कार्यक्रम आयोजना गरेको थियो ।

आइतबार सांझ प्लमस्टिडको एशिएन कम्युनिटी सेन्टरमा सम्पन्न सो कार्यक्रममा स्थानीय क्षेत्रका नेपालीहरुको उल्लेख्य सहभागिता थियो ।

ग्रिनवीच क्षेत्रका सांसद म्याथ्यु पेनिकुक, स्थानीय काउन्सिलरहरु, होम अफिसकी प्रतिनिधी, एनआरएन यूकेका पूर्व अध्यक्ष महेन्द्र कंडेल, उपाध्यक्ष दासुराम पाण्डे लगायतका विशिष्ट अतिथी पनि कार्यक्रममा सहभागी थिए ।

दुई चरणमा सञ्चालित कार्यक्रमको पहिलो चरण औपचारिक थियो भने दोस्रो चरणमा विभिन्न् मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमहरु थिए ।  कार्यक्रमको सुरुमा नेपाल तथा बेलायत दुवै देशका राष्ट्रिय गानहरु बजाइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी सांसद पेनिकुकले औपचारिक रुपमा सोसाइटीको ब्यानर अनावरण गरेका थिए । यससंगै साउथ ईस्ट क्षेत्रका सबै नेपालीको साझा संस्था भन्दै केहि महिना पहिले स्थापित सोसाइटीको औपचारिक सुभारम्भ भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पेनिकुकले नेपाली समुदाय साउथ ईस्ट लण्डन र ग्रिनवीच क्षेत्रका लागि अभिन्न र महत्वपूर्ण भाग बनेको बताए । नेपाली समुदायबीचको एकता र सामुदायिक हितको भावना सधै उदाहरणीय पाएको भन्दै उनले प्रशंसा पनि गरे ।

सोसाइटीका प्रमुख सल्लाहकार एलएन पाण्डेले सोसाइटी स्थापनाको पृष्ठभूमि र यसका लक्ष्यबारे बोले ।
त्यसै अवसरमा सोसाइटीले एनआरएन यूकेमा निर्विचित हुने साउथ ईस्ट क्षेत्रका ११ जना पदाधिकारीहरुलाई विशेष सम्मान गरेको थियो ।

त्यस्तै समाजसेवामार्फत समुदायमा योगदान पुरयाएको भन्दै समाजसेवी व्यवसायी मोहन गुरुंग, समुदायमा सधै सक्रिय र अग्रणी भुमिका खेलेका युवा समाजसेवी जिवन सेन र सोसाइटीको स्थापनाकालदेखि नै आईटीसम्बन्धी सम्पुर्ण काम निशुल्क गरिदिने प्रकाश महर्जन अबिलाई सांसद पेनिकुकले सम्मान गरे ।

सोसाइटीका कार्यवाहक अध्यक्ष हरिगोबिन्द गुरुंगको सभापतित्वमा सम्पन्न कार्यक्रम महासचिव खुशी लिम्बुले सञ्चालन गरेका थिए । उपाध्यक्ष देवेन श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रमको दोस्रो चरणमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । जसमा मुख्य आकर्षण बनेकी थिइन बिग आईकन बिजेता मुस्कान रानाभाट । पोखराको बिग एफएमको गायन प्रतियोगिताकी विजेता मुस्कानले गाएका गीतहरु कार्यक्रमका सहभागीले खुबै रुचाएका थिए । मुस्कानले गाइरहंदा कैयौं दर्शकहरु मुस्कान सगंसंगै गाउने र नाच्ने गरेका देखिन्थे ।

कार्यक्रममा विभिन्न स्थानीय कलाकारका आकर्षक नृत्य तथा गीतहरु पनि प्रस्तुत गरिएको थियो । कार्यक्रमको अन्त्यमा डिजे हेम विष्टले विभिन्न नेपाली तथा हिन्दी गीतहरुमा सहभागीहरुलाई नचाएका थिए ।
पांच पाउण्ड मात्र टिकटदर राखिएको कार्यक्रममा सहभागीहरुलाई खानाको व्यवस्था समेत गरिएको थियो । आयोजकले अपेक्षा गरेभन्दा पनि बढि सहभागी उपस्थित भएपछि खाना तथा बसाइको लागि व्यवस्थापनमा भने केहि समस्या समेत देखिएको थियो ।

तर कार्यक्रमका संयोजक तथा सोसाइटीका कोषाध्यक्ष ह्यारी गुरुंगले सोसाइटीले आयोजना गरेको पहिलो कार्यक्रम भएकाले केहि सामान्य कमजोरी भएपनि आगामी कार्यक्रममा सुधार गर्ने प्रतिबद्धता जनाए ।