काठमाडौं २५ असाेज । एकिकृत नेकपा माओवादीमा सरकारको नेतृत्व तथा गृहमन्त्रालयमा एमाओवादीका नेता तथा पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्र्रेष्ठको समेत दावी रहेको छ । सोमबार बिहान पार्टीका अध्यक्ष पूस्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा बसेको बैठकमा नेता श्र्रेष्ठले आफु पार्टीको तर्फबाट सरकारको नेतृत्व गरेर जान पाउनुपर्ने माग गरेको बैठकमा सहभागी एक नेताले बताए । सरकारमा पठाउन पार्टीको तर्फबाट नेतृत्वको बारे भएको छलफलमा अर्का नेता टोप बहादुर रायमाझीले पनि दावी गरेको स्रोतले बतायो । बाहिर चर्चामा रहेका पार्टीका अर्का नेता कृष्णबहादुर महराले भने ‘आफु सभामुख जस्तो निस्कृय पदमा नजाने’ बताएका थिए । उनले सरकारमा सहभागीताका लागि केही दावी गरेनन् । पार्टीको निर्णय मान्ने तर सभामुख नहुने उनले बताएका थिए । पार्टीका कतिपय नेताहरुले महरा सभामुख हुनपर्ने बताईरहेका छन् भने कतिपय नेता तथा कार्यकर्ताले भद्र छविका नेता महराले सरकारको नेतृत्व गर्नुपर्ने बताईरहेका छन् । नेता श्र्रेष्ठ सभासद छैनन् । संविधानसभाको चुनावमा मकवानपुरबाट पराजित श्र्रेष्ठले अहिलेको नयाँ संविधानअनुसार मन्त्री बन्न पाउँदैनन् । तर श्र्रेष्ठले सभासद बनाएर पार्टीले आफुलाई सरकारमा पठाउनुपर्ने माग राखेपछि पार्टी अध्यक्ष प्रचण्ड अप्ठ्यारोमा परेका छन् ।
चुनाव हारेका काजीले मन्त्री मागेपछि प्रचण्ड अप्ठ्याराेमा






