पूर्व गोर्खा सैनिकको समस्यावारे प्रधानमन्त्रीले भने: आवश्यक पहल गर्नेछु

काठमाडौं –बेलायती सेनाका पूर्व गोर्खा सैनिकको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी आफूहरुमाथि बेलायत सरकारले विभेद गरेको भन्दै बेलायत सरकारसँग बार्ता गरी समस्या समाधानमा पहल गरी दिन आग्रह गरेको छ ।
शनिबार बिहान प्रधानमन्त्री निवासमा भएको भेटमा टोलीले २५ वर्षदेखि आफूहरु बेलायत सरकारसँग बार्तामा बसे पनि समस्या समाधान नभएकाले सरकारी तहबाटै बार्ता गरी समस्या समाधानको पहल गर्न आग्रह गरेको हो ।

भेटमा पूर्व गोर्खा सैनिक कृष्णबहादुर राईल भने ‘बेलायती सैनिकको एकै स्तरको पदमा बसेर काम गर्दा पनि नेपालीहरुलाई तलव कम दिइन्छ, कैयौं विभेद र असमानताहरु छन्, त्यहाँको हाउस अफ कमनको प्रतिवेदन समेत लागु भएको छैन । यस अवस्थामा नेपाल समेत त्रीपक्षीय सन्धिअनुसार भर्ति गरिएको गोर्खा सैनिकलाई अधिकार दिलाउन नेपाल सरकारबाटै पहल गर्न अनुरोध छ ।’

यस अघि पनि आफूले गोर्खा सैनिकका मागहरुका सम्बन्धमा पटकपटक कुरा उठाइसकेको जानकारी गराउँदै प्रधानमन्त्रीले भने, ‘तपाईहरुका माग जायज छन्, यो राष्ट्रकै विषय हो । मैले आफ्नो ठाउँबाट आवश्यक पहल गर्नेछु ।’