स्याङ्जा समाज यूकेले गर्‍यो स्याङ्जाका बाढी-पहिरो प्रभावितलाई २ लाख सहयोग !

लण्डन । स्याङ्जाका प्राकृतिक प्रकोप (बाढी–पहिरो)बाट प्रभावितहरुलाई स्याङ्जा समाज यूकेले राहत वितरण गरेको छ।

समाजले स्याङ्जा कालिगण्डकी गाउँपालिका वडा नं. ४ बिर्घा, खहरे, कट्टे गाँउ तथा वालिङ नगरपालिका वडा नं.११, १२ र १४ का बाढी पहिरो पीडितहरुलाई बिहीबार २ लाख रुपैयाँ राहत वितरण गरेको हो।

गत असार ३० गते र असोज ८ गतेको बाढी पहिरो पीडित १० परिवार र एक नाबालकलाई वालिङ नगरपालिका कार्यालय परिसरमा राहत वितरण गरिएको हो ।

राहत वितरण कार्यक्रमका प्रमुख अतिथि वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँण, कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापा, कालीगण्डकी गाँउपालिका वडा नं.४ का वडाध्यक्ष चक्रपाणी पाण्डे, नेपाल मगर संघ कालीगण्डकी अध्यक्ष तथा स्थानीय कार्यक्रम संयोजक दर्शन रानाले राहत रकम वितरण गरेका थिए।

राहत वितरण कार्यक्रमका प्रमुख अतिथि वालिङ नगरपालिका प्रमुख दिलिप प्रताप खाँणले वालिङ र कालीगण्डकीबासीको पिडामा यूकेबाट दुःखमा दुःख साट्नुहुने स्याङ्जा समाज यूके एवम सहयोगीहरुलाई धन्यवाद व्यक्त गरे ।

यूके र स्याङ्जालाई जोड्ने मेजर लक्ष्मीप्रसाद गुरुङ, यूकेमा संयोजन तथा अगुवाई गर्ने सहयोगीहरुलाई आभारका साथै धन्यवाद व्यक्त गरे ।

कार्यक्रम अध्यक्ष खिमबहादुर थापाले असार ३० गते कालीगण्डकी गाँउपालिका र असोज ८ गते वालिङको दुखद् घटनामा राहत प्रदान गर्ने स्याङजा समाज यूकेलाई गााउपालिका र आफ्नो तर्फबाट धन्यवाद व्यक्त गरे।

बेलायतमा  स्थित शारदा गुरुङको अध्यक्षतामा रहेको स्याङ्जा समाज यूकेका महासचिव बलराम ढकालको संयोजनमा राहत संकलन गरिएको समाजका बरिस्ठ सल्लाहकार डेबिड गुरुङले बताए ।