गुल्मीको रुपाकोटमा बिचल्लीमा परे लोकनाथ-कहालीलाग्दो घटना-गरे सहयोगको अपिल !!

गुल्मी । गत श्रावण १२ गते अविरल बर्षा सँगै आएको पहिरोले घर ध्वस्त बनाएपछि गुल्मीको चन्द्रकोट गाँउपालिका ७ रुपाकोट एक्लेपीपलका लोकनाथ घिमिरे घरवारविहिन भइ विद्यालयको कोठामा आश्रय लिनुपर्ने अवस्था सिर्जना भएकोे छ । जीवनभर भारतमा मजदुरी गरी कमाएको थोरै थोरै रकमले दुइ बर्ष अघि मात्र निर्माण सम्पन्न गरेको सो दुइतले घर मध्यरातको बर्षा सँगैको पहिरोले बस्न नमिल्नै बनाएको छ ।
तस्वीरमा देखिएजसरी घरको माथिपट्टीबाट आएको ढुँगा सहितको पहिरोको कारण ६ जनाको परिवार यतिबेला हीराभवन माद्यामिक विद्यालयमा बस्न बाध्य भएको छ । घिमिरेको पहिरोले घर मात्र गएन । उनका सपना, उनीसँग भएका आधारहरु पनि भत्किए । ४ बर्षको छोरा र १४, १० र ७ बर्षका साना छोरीहरुलाइ पढाउने, बढाउने र भनेजस्तो जिन्दगी दिने सपनामा पनि ठक्कर लाग्यो । गहभरी आँशु पोख्दै लोकनाथ घिमिरे भन्छन, “घर पछि विभिन्न माटोको बोरा, भर्याङ्ग र चर्पीमा बढी भार परेको कारण हामीहरु बाँच्न सफल भयौँ, होइन भने हाम्रो पनि आज ३३ दिन हुन्थ्यो” । ७ बर्षसम्म भारतको मजदुरीमा कमाएको पैसाले उनले घर बनाएका थिए ।
यस अघि पनि चोरकाटे – शान्तिपुर सडकको ग्राभेल गर्ने समयमा बाटो छेउमै रहेको उनको घर लोडरकोे थर्काइले कमजोेर भयो । त्यसै कारण उक्त घरमा पनि बस्न नसक्ने भएको कारण नजिकै जग्गा किनेर ऋण धन गरेर उक्त घर बनाएका हुन् । तर हाल त्यहि घर पनि पहिरोले भत्काएपछि यसपछि कहाँ बस्ने चिन्ता लोकनाथलाइ छ । केही समयको बास विद्यालयमा बसेपनि नियमित कक्षा शुरु भएपनि उनले विद्यालय छोड्नुपर्ने हुन्छ । हाल घिमिरेले विद्यालयका तीन कोठा प्रयोग गरेका छन् । ६ जनाको परिवार पाल्न निकै मुश्किल छ ।
आफुसँग केही नभएकोे कारण सहयोगको हार गुहार गरेको भएपनि कतैबाट सहयोग आएको छैन । “अहिले सम्म पसलबाट उधारो लिएर खाएका छौँ, नमरे बाँचे तिरौला भनेर” उनले भने “स्थानीय सरकारलाइ हारगुहार गर्दा पनि केही पाइएन, कान्छी दिदी सुवर्ण ज्वारचनले आधा लिटर तेल, एक केजी नुन र एक बोरा चामल दिनुभएको हो, सहयोगको नाउमा मैले पाएको यत्ति मात्र हो” । उनले आफुले वडा कार्यालय तथा गाँउपालिका सँग आग्रह गरेको भएपनि कसैले नहेरेको दुखेसो पोखे । गाँउपालिका अध्यक्ष द्रोण खत्री, वडाध्यक्ष लक्ष्मीप्रसाद भण्डारी सहितको टोली घरको क्षती हेर्न भने आएको उनले बताए । “मेरो गास, बास, कपास सबै गयो, रित्तो भएको छु, परिवार कसरी पाल्ने यसैले पिरोल्छ” उनले भने “सर मलाइ बचाउनुस, कतैबाट सहयोग पाएमा बाँचिने थ्यो, नत्र केटाकेटी सँगै आफु पनि भोकै मर्नुपर्ने दिन आउँछ” ।
कोरोना महामारीको कारण लकडाउन भएकोले कुनै काम गर्ने अवसर पनि उनलाइ मिलेको छैन । उक्त दिनको पहिरोले घिमिरे मात्र नभएर छिमेकी गंगा गौतम, र कृष्ण बहादुर गौतमको पनि उठीबास भएको छ । गौतमको परिवार विद्यालय भन्दा माथीपट्टीको घरमा बसेका छन् भने कृष्णबहादुरको परिवार पनि भाडामा बसेका छन् ।
लोकनाथले भने, ”देश–विदेशमा रहनुभएका सहयोगी व्यक्ति तथा संघ–संस्थासँग सहयोगको अपेक्षा गरेको छु । मलाई सहयोग गर्न चाहनुहुने व्यक्ति तथा संघ–संस्थाले लोक नाथ घिमिरे फोन न  ९८४०९७१३०३ मा आफूले सकेको रकम जम्मा गरी सहयोग गरिदिनु हुन अनुरोध गर्छु । ”
सहयोगको अपिल
घिमिरेको घर निर्माणको निम्ती देश विदेशमा सहयोग अभियान सञ्चालनको क्रममा छ । बेलायत स्थित गुल्मी जिल्ला समाज युकेको संस्थापक उपाध्यक्ष एवम बरिष्ठ समाजसेवी तथा एनआरएन युकेका सल्लाहकार मोतिराज भण्डारीले सहयोगको अपिल गरे । उनले भने, “यस पवित्र काममा सबैले साथ दिनुहुनेछ भन्ने विश्वास गरेको छु।” उनले सबै मिलेर घिमिरेको घर निर्माण अभियानमा साथ दिन आग्रह गरे ।