काठमाडौं- राष्ट्रकवि दिवंगत माधवप्रसाद घिमिरेको अन्त्येष्टि आज सम्मानका साथ गरिंदै छ ।
पशुपतिमा आज अन्त्येष्टि गरिने र नेपाली सेनाको एक टुकडीले राष्ट्रकविप्रति सम्मान गारद अर्पण गर्ने जनाइएको छ । राष्ट्रकवि घिमिरेको हिजो साँझ ५ बजेर ५५ मिनेटमा उनकै निवास लैनचौरमा निधन भएको हो ।
विक्रम सम्वत १९७६ असोज ७ गते जन्मिएका राष्ट्रकवि माधवप्रसाद घिमिरेका सर्वाधिक लोकप्रिय “गौरी खण्डकाव्य”सहित दर्जनौं काव्यकृति प्रकाशित छन् । राष्ट्रकवि घिमिरेले गत वर्षमात्रै शताब्दी वर्ष उमेर पूरा गरेका थिए ।
तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका कुलपति समेत भएका उनलाई विसं २०६० मा राष्ट्रकवि उपाधि दिइएको हो ।
घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन्। उनी बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख , प्रबन्धजस्ता अनेकौं विधा(उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका बहुमुखी प्रतिभा हुन्।
प्रकृतिका अनेकन विविध पक्षहरुलाई आफ्ना जीवन्त रचनाहरुमा समावेश गर्दै जीवनलाई नै प्रकृतिसापेक्ष ढङगबाट व्याख्या गर्ने उनका लेखाइहरु दीर्घसाधनाले भरिएका छन्। उनले वि.सं. १९९२ सालमा गोरखापत्रमा आफ्नो कविता छपाएका थिए। उनका नवमञ्जरी (वि.सं. १९९४), घामपानी (वि.सं. २०१०), नयाँ नेपाल (वि.सं. २०१३), किन्नर-किन्नरी (वि.सं. २०३३) जस्ता कवितासङ्ग्रह सङ्कलित छन्।






