वार्ताको जालोमा प्रतिपक्षी नअलमलिने

मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ३० दलीय मोर्चाको आन्दोलनलाई मत्थर एवम् कमजोर पार्न वर्तमान सरकारले वार्ताको जालो फालेको आरोप लगाउनुभएको छ । उहाँले आज सप्तरीको राजविराजमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै ३० दलको आन्दोलन तयारी तीव्र रुपमा भइरहेकाले त्यसलाई कमजोर पार्न वार्तातर्फ सरकार लागेकाले वार्ताको विश्वसनीय वातावरण तयार नभएसम्म वार्ताको औचित्य नरहेको स्पष्ट पार्नुुभयो ।
अध्यक्ष यादवले काँग्रेसले एउटा कुरा गर्ने र एमालेले अर्को कुरो गर्ने भएको र काँग्रेस र एमालेको बहुमतको घमण्ड भएकाले वार्तामा समस्या आएको उहाँले उल्लेख गर्नुभयो ।
अध्यक्ष यादवले वार्तामा बस्नुअघि विगतका सहमति र सम्झौतालाई कार्यान्वयन गर्ने, संविधान निर्माणको प्रश्नावली समिति फिर्ता गर्नु र सहमतिमै संविधान जारी गर्ने प्रतिबद्धता गरेपछिमात्र वार्ताको विश्वसनीय वातावरण निर्माण हुने भन्नुभयो ।
सरकारले वार्तामा बस्न पटक–पटक गरेको आग्रहलाई सकारात्मक भन्दै उहाँले भन्नुभयो, “यो आग्रह मोर्चाको जारी आन्दोलनलाई मत्थर पार्नका लागि हो ।”यसैबीच आज राजविराजमा ३० दलीय मोर्चाले विरोधस्वरुप ¥यालीको आयोजना गरेको बताइएको छ ।