जाजरकोटमा स्वाइनफ्लुले ज्यान गुमाउने बढे

जाजरकोटमा दुई सातादेखि फैलीएको रोग मौसमी रुघाखोकी भएको र केही विरामीहरुमा स्वाइन फ्लूको संक्रमण समेत भेटिएको जनाइएको छ ।
चार दिन अघि राजधानी ल्याईएको केही विरामीहरुको खकार, थुक, रगतको नमूना परिक्षण गर्दा अधिकांशमा मौसमी रुघा खोकी र बाँकीमा कुनै पनि रोग नदेखिएको मध्य पश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ । १२ जना विरामीको नमूना परीक्षण गर्दा ३ जनामा मौसमी रुघाखोकी र अन्यमा कुनै रोग नदेखिएको निर्देशनालयका प्रमुख राजेन्द्र प्रसाद पन्तले जानकारी दिए । कमजोर प्रतिरक्षा शक्ति, सरसफाइको कमी, दुषित खानेपानीको प्रयोगले रोगको संक्रमण वढेको पनि निर्देशक पन्तले बताए । हिजै मात्र जाजरकोटमा ४ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको संख्या १६ पुगेको छ ।
मृत्यु हुनेमा टालेगाउ २ की मैसरा सिंह, ३ की लछी नेपाली, ५ की धनकला दमाई र ६ का हस्ते कामी रहेका छन्  । उनीहरुलाई ज्वरो आउने, छाती दुख्ने, श्वास प्रश्वास बन्द हुने र हातखुटुटा झम्झमाउने लक्षण देखिएको थियो । गाउँमा सो रोगको लक्षण भएका २ सय भन्दा वढी विरामी भएको बताईएको छ । रोगको प्र्रकोपवाट पैंक गाविसमा १०, अर्छानीमा १ र  टालेगाउमा  ५ को ज्यान गैसकेको छ । यता, काठमाडौंको टेकुस्थित सरुवा रोग नियन्त्रण केन्द्रले भने जाजरकोटका केही विरामीको थुक तथा रगत परीक्षण गर्दा केहीमा स्वाइन फ्लूको संक्रमण भएको आशंका गरेको छ ।