लण्डन । इंग्ल्याण्डमा हाल लागू दोस्रो चरणको लकडाउन आउंदो डिसेम्बर २ देखि हट्ने घोषणा गरिएको छ ।
इंग्ल्याण्डमा दोस्रो चरणको लकडाउन नोभेम्बर ५ देखि लागू गरिएको थियो।
सोमबार बेलायती संसदलाई भिडियो मार्फत सम्बोधन गर्दै प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन अन्त्य गरी विगतमा जस्तो क्षेत्रगत रुपमा तीन फरक-फरक तहका प्रतिवन्धहरु लागू गरिने घोषणा गरे।
उनी अहिले आफ्नै सरकारी निवासमा ‘आइसोलेसन’ मा बसिरहेका छन्।
प्रधानमन्त्री जोनसनले डिसेम्बर २ देखि अहिले बन्द रहेका सबै पसल तथा व्यवसाय, रेष्टुरेन्ट, पब, जीमखाना लगायत संचालनमा आउने जनाए ।
आवश्यक सतर्कतासहित खेलकुद प्रतियोगिताहरु हेर्न ४ हजारसम्म दर्शकहरु जान पाउनेछन् । वैवाहिक समारोह र सामूहिक प्रार्थनासहितका धार्मिक क्रियाकलापलाई पनि छुट दिइनेछ ।
रेष्टुरेन्ट तथा पबहरु राती १० बजे बन्द गर्नैपर्ने यसअघिको नियमलाई केही खुकुलो पार्दै ‘लास्ट अर्डर’ १० बजे सम्म दिन सकिने र ११ बजेसम्म ग्राहकहरु बस्न पाउने नियम ल्याइएको छ ।

ब्रिटिशहरुको प्रमुख चाड, क्रिसमस पर्वका बेला केही दिनको लागि प्रतिवन्धहरु खुकुलो पारिने तयारी भैरहेको प्रधानमन्त्री जोनसनले बताए । तर यस पटकको क्रिसमस सधैंको भन्दा फरक हुने पनि उनले जनाए।
लकडाउन हटेपछि सरकारले कोरोना संक्रमणको स्तरका आधारमा अति उच्च, उच्च र मध्यम गरी क्षेत्रगत रुपमा सोहीअनुसारका प्रतिवन्धहरु लगाउनेछ । कुन क्षेत्रलाई कुन तहमा राख्ने भन्ने वर्गीकरणको घोषणा विहिबारसम्म गरिने जनाइएको छ ।
लन्डनका मेयर सादिक खानले भने,” हामीले विस्तृत योजना पर्खिरहेका छौं, तर लन्डनका व्यवसाय तथा पसलहरु खोल्न दिनु पर्दछ। “






