काठमाण्डौ । राजधानीका तीन जिल्लाका स्थानीय तहहरुले अत्यावश्यक बाहेकका सेवा प्रवाह रोक्ने भएका छन् ।
काठमाडौं उपत्यकाका नगरपालिकाहरूका मेयरहरूको संगठन नगरपालिका मेयर फोरमको सोमबार बसेको बैठकले स्थानीय तहका अत्यावश्यक बाहेकका सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेको हो ।
फोरमका अध्यक्ष तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यकाभित्र समुदायस्तरमा संक्रमणको उच्च जोखिम देखिएकोले भिडभाड कम गर्न स्थानीय तहहरूले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय लिएको बताए ।
बैठकले सार्वजनिक यातायात पूर्ण रूपमा सञ्चालन भएपछि संक्रमण तीव्र गतिमा फैलिएको भन्दै सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउन सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भइ मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम पनि बढेको हुनाले उद्योग तथा कलकारखाना भित्र क्वारेन्टाइनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पुरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय उनीहरूले गरेका छन् ।
व्यापारिक क्षेत्र तथा सपिङ्ग महलहरु, होटल, रेष्टुरेष्ट आदिमा कोभिड—१९ संक्रमणको उच्च जोखिमयुक्त क्षेत्र रहेकोले उच्च सतर्कता मापदण्डलाई कडाईका साथ पालना गर्नुपर्ने र सोको नियमित अनुगमन गरी कारवाही गर्ने निर्णय समेत भएको छ ।
पीसीआर परीक्षण्को आर्थिक भार बढी हुने र यसको उपयोगिता परीक्षण गरिएको सिमित अवधिलाई मात्र रहने भएकाले परीक्षण्को दायरा र दरलाई बढाउने मात्रै भन्दा पनि संक्रमण रोकथामको लागि क्वारेन्टाइनको संख्या र गुणस्तरमा ध्यान दिने निर्णय पनि बैठकले गरेको छ ।
अनाधिकृत रुपमा उपत्यका प्रवेश गरेका निर्माण कार्यका मजदुर, ठेलागाडा, साइकल, फुटपाथ, तरकारी व्यापार गर्न आएकाहरु बढी देखिएको भन्दै तरकारी व्यापारलाई साँझ विहान मात्र सञ्चालन गर्न दिने र निर्माण कार्य, फुटपाथ, ठेलागाडा, साईकल मार्फत गरिने व्यापारलाई भदौं १५ गते सम्मको लागि निषेध गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यस अघि तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले एक बैठक बस्दै प्रशासनका अत्यावश्यक बाहेकका सबै सेवा रोक्ने निर्णय गरिसकेका थिए ।






