काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–१० स्थित गोंगबु गणेशस्थानमा सुटकेशमा फेला परेको शवको सनाखत भएको छ ।
सुटकेशमा भेटिएको शव दाङका कृष्णबहादुर बोहराको भएको महानगरीय प्रहरी कार्यालयका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए । मृतक काठमाडौंको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत रहेको खुलेको छ ।
आइतबार बिहान ७ बजे गोंगबुका स्थानीयले सडकछेउमा फालिएको सुटकेशबाट रगत बगेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । अपराध महाशाखा र काठमाडौं प्रहरीले हत्याबारे अनुसन्धान गरिरहेको जनाइएको छ ।।
मृत शरीरको मुख्य भाग एउटा सुटकेशमा थियो । प्रहरीको तालिमप्राप्त कुकुरले शरीर प्याक गरिएको सुटकेशभन्दा करिब २ सय मिटरको दुरीमा दुई खुट्टा र टाउको जेब्रा झोलामा फेला पारेका थिए । क्रुर तरिकाले हत्या गरिएका पुरुषको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।






