गोङ्गबुमा भेटिएको शव प्रकरण : यसरी अनुसन्धान गर्दैछ प्रहरीले

काठमाडौं ।
राजधानीको बसपार्क क्षेत्र गोङ्गबुमा आइतवार विहान विभत्स तरिकाले हत्या गरी छोडिएको शवको विषयमा अनुसन्धान गर्न प्रहरीलाइ हम्मे हम्मे परिरहेको छ । क्रुर तरिकाले हत्या गरि शरीर र टाउको छुट्टाछुट्टै ठाँउमा फालिएको योे दृश्यले नेपाली समाजमा कस्ता सम्मका अपराधी बाँचिरहेका छन् भन्ने प्रष्ट हुन्छ ।

घट्नाको प्रकृति
गोङ्गबु चोकबाट गणेश मन्दिरतिर छिर्दा करिब एक सय मिटर पार गरेपछि अर्को सकडमार्ग आउँछ । टोखा नगरपाालिका–१० स्थित त्यो नवज्योती मार्ग हो । आईतरबार विहान सात बजेतिर त्यहि नवज्योती मार्गमा एउटा शव भेटियो । करिब ४०–४५ उमेर समूहका पुरुषको सो शव पहिचान हुन सकेको छैन ।

मृत शरीरको मुख्य भाग एउटा सुटकेशमा थियो । प्रहरीको तालिमप्राप्त कुकुरले शरीर प्याक गरिएको सुटकेशभन्दा करिब २ सय मिटरको दुरीमा दुई खुट्टा र टाउको जेब्रा झोलामा फेला पारेका थिए । क्रुर तरिकाले हत्या गरिएका पुरुषको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।

महानगरीय अपराध महाशाखाको जम्बो टोलीले सो हत्या अनुसन्धान गरिरहेको छ । तर, प्रहरीलाई ब्यक्तिको पहिचान खुलाउनै हम्मे परेको छ । ‘मृतकको पहिचान खुल्न सकेको छैन,’ महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) दीपक थापाले रातोपाटीसँग भने–‘मृतक गोङ्गबु क्षेत्रका स्थानिय हैनन्, त्यसैले पहिचान खुलाउन समस्या भइरहेको छ ।’

शव भेटिएपछि एक युवती आएर आफ्नो दाजु हराएको बताएपछि प्रहरीले पहिचान नजिक पुगेको बताएको थियो । तर, ति युवतीले मृतकको शव हेरेर ‘मेरो दाजु होइन’ भनिन् । गोङ्गबु क्षेत्रको होटलमा बसेका उनका दाजु केही बेरमा घटनास्थलमै आइपुगे ।

हत्यारा खोज्न महानगरीय अपराध महाशाखाका प्रहरी उपरिक्षक (एसपी) ईश्वर कार्कीले नेतृत्वमा पाँच टोली परिचालन गरिएको छ ।

कार्की नेतृत्वको टोलीले शव भेटिएको एक किलोमिटर वरपरका १ हजारभन्दा बढी घरमा आइतबार रातिसम्म सर्च अपरेशन चलाए । सर्च अपरेशनको दायरा बढाइने महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए ।

आइतबार विहानीपख शव फालेको हुनसक्ने अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । टिचिङ अस्पतालबाट घटनास्थलमा गएका फरेन्सिक डाक्टरको टोलीले १२ घण्टाको बीचमा हत्या गरेर फालेको निष्कर्ष निकालेका छन् ।

अनुसन्धान अधिकृतहरुले शव भेटिएको ठाउँ र त्यस आसपासका सडक, गल्लीका सिसिटिभी फुटेज हेरिरहेका छन् । तर, रातको समय हुनाले सिसिटिभी फुटेजबाट हालसम्म कुनै क्लू प्रहरीले पाएको छैन ।

आईतबार साँझ टोखा जाने बाटोको एउटा घरको गेटमा रगत देखिएको सुराक प्रहरीले पायो । हत्या गरिएको ठाउँ खोजिरहेको प्रहरीका लागी त्यो ठुलो क्लू थियो ।

सो घरमा एउटै फ्ल्याटमा बस्ने चारजना युवतीलाई प्रहरीले सोधपुछका लागी नियन्त्रणमा लियो । तर, राति अवेर डेरामा पुग्दा गेट नखुलेपछि पर्खाल नाघेर भित्र पस्दा फलाको धारले एक युवतीको हात काटेको खुल्यो । उनको हातबाट बगेको रगतको छिर्का गेट र पर्खालमा लागेको पुष्टि भएपछि प्रहरीले चारैजनालाई छाडेको रातोपाटीमा खबर छ । ।