सुरक्षा संवेदनशीलता र संस्थागत साखलाई हेक्का गर्नुस् : प्रधानसेनापति

rajendra chhetriकाठमाडौं- प्रधानसेनापति राजेन्द्र क्षत्रीले राष्ट्रिय सुरक्षा तथा संवेदनशीलता, सङ्गठनको गोपनीयता र नेपाली सेनाको संस्थागत साखलाई हेक्का गरेरमात्र विचार प्रस्तुत गर्न सङ्गठनसँग जोडिएका सर्जकलाई सजग गराउनुभएको छ ।

नेपाली सेनाका बहालवाला तथा अवकाशप्राप्त उच्च अधिकारीबीच सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा अद्यावधिक गराउन आज सैनिक मुख्यालयमा आयोजित अन्तर्क्रियालाई सम्बोधन गर्दै उहाँले आत्मवृत्तान्तलगायत पुस्तक, लेख रचना तथा अन्तर्वातामा राष्ट्रिय सुरक्षा, सङ्गठनको गोपनीयता र संस्थागत साखलाई सकारात्मक योगदान पुग्ने ढङ्गबाट मात्र प्रस्तुत गर्न सुझाव दिनुभएको हो ।

केही समयअघि सेनाका पूर्वसेनापति र उच्च अधिकृतका नाममा प्रकाशित पुस्तकमा राष्ट्रिय सुरक्षा र सङ्गठनको गोपनीयताकाबारे समाजका विभिन्न कोणबाट विभिन्न टीकाटिप्पणी हुँदै आएको अवस्थामा प्रधानसेनापति क्षत्रीले उहाँको ध्यानाकर्षण गराउनुभएको हो ।

सरकार र नेपाली जनताले सङ्गठनप्रति राखेको विश्वासलाई अवसरका रुपमा लिएर विकास निर्माण र प्रकृति संरक्षणको क्षेत्रमा उदाहरण प्रस्तुत गर्नुपर्ने आजको आवश्यकता हो– प्रधानसेनापति क्षत्रीले भन्नुभयो ।